काठमाडौं । मकवानपुरको सिस्नेरीमा रहेको वत्सलादेवी एन्फा फुटबल एकेडेमीमा रहेका पाँच खेलाडीहरू पहिरोमा परी बेपत्ता भएका छन् । अविरल वर्षापछि शनिबार कुलेखानी खोलामा गएको पहिरोले सो एकेडेमीका खेलाडीलाई असर गर्ने भएपछि सुरक्षित स्थानमा लैजाने क्रममा पहिरोमा परी पाँच खेलाडी बेपत्ता भएको एकेडेमीका सञ्चालक समिति सचिव छवि सुवेदीले जानकारी दिए । उनका अनुसार भौगोलिक विकटताका कारण सो क्षेत्रमा जेसीबीले पहिरो पन्छाउन पनि सम्भव नभएकोले सुरक्षा निकाय र स्थानीयको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको छ ।
सुवेदीका अनुसार एकेडेमीमा एन्फाबाट निर्णय गरेर पठाइएका ३० सहित एकेडेमी सञ्चालक समितिले शुल्क लिने गरी निर्णय गरेर पठाएका सात सहित कुल ३७ जना खेलाडीहरू रहेका थिए । कुलेखानी जलविद्युत् आयोजनाको ड्याम भरिएर दुवै ढोका खोलिएपछि आउन सक्ने बाढीबाट जोगाउन खेलाडीहरूलाई सुरक्षित स्थानतर्फ लगिँदै थियो । सोही क्रममा पहिरोले पाँच जना बेपत्ता बनाएको सुवेदीले जानकारी दिए । बेपत्ता हुनेमा जिसस मकवानपुरका अध्यक्ष ललितबहादुर घलानका छोरा समेत रहेको बताइएको छ । उनको नाम पनि एन्फाले स्वीकृत गरेको खेलाडीको सूचीमा भने समावेश छैन ।
एन्फाले फिजिबिलिटी स्टडीविना नै सिस्नेरीको खोलाको किनारमा एकेडेमी सञ्चालनको निर्णय गरेको थियो । जसले गर्दा आज आजको दुर्घटना भएको भन्दै सामाजिक सञ्जालमा एन्फाको विरोध भएको छ । गत जेठबाट सुरु भएको एकेडेमी निर्माणमा दूरदर्शिता नअपनाउँदा चार महिनामा नै अप्रिय घटना घटेको हो ।
उता जिल्ला प्रहरी कार्यालय मकवानपुरले भने सो स्थानमा पहिरोले क्षति पुगेको भन्ने खबर प्राप्त भए पनि घटनाबारे यकिन जानकारी प्राप्त नभएको बताएको छ । सिस्नेरी प्रहरी चौकी दुर्गम क्षेत्रमै भएकोले त्यहाँको चौकीसँग सम्पर्क हुन नसकेको मकवानपुर प्रहरीले जनाएको छ ।