काठमाडौं खबर अशोज ११, २०८१
काठमाडौं । अविरल वर्षापछि आएको पहिरोले काठमाडौं जोड्ने मुख्य सडकमा अवरोध भएको छ । वर्षाका कारण नौबिसे काठमाडौं जोड्ने त्रिभुवन राजपथअन्तर्गत खत्री पौवा भन्ने ठाउँमा गएको पहिरोले सो बाटो अवरुद्ध भएको छ । सुरुङमार्गको मुखको ठीक अगाडि पहिरो गएको हो । शुक्रबार (आज) बिहानैदेखि परेको बर्षाका कारण नागढुंगा मार्गको प्रवेशद्वार नजिकै लेदोसहितको पहिरो खस्दा संघीय राजधानी काठमाडौँ प्रवेश गर्ने सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। सडक अवरुद्ध भएपछि काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सवारीहरुको जाम लागेको बताइएको छ। निरन्तर वर्षाका कारण तत्काल पहिरो पन्छ्याउन सकिने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक प्रल्हाद सिलवालले बताए।
त्यस्तै, बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ चारसयबेंसीमा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार अविरल वर्षासँगै आएको लेदोसहितको पहिरोले आज बिहान आधा घण्टा सडक दुईतर्फी रुपमा अवरुद्ध भएको थियो । अवरुद्ध सडक सञ्चालन गर्न प्रहरी, स्थानीय जनप्रतिनिधि र सडक विभागको प्रतिनिधिको सक्रियतामा एकतर्फी सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।
उता आज बिहादेखि अवरुद्ध हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौँ जाने सडकमा पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार हेटौँडा कुलेखानी फाखेल भएर काठमाडौँ जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ मा सडकमाथिबाट लेदोसहितको पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । प्रहरी, सडक डिभिजन कार्यालय र स्थानीय तहसँग समन्वय गरी पहिरो पन्छाएर आवागमन नियमित गरिएको हो ।