काठमाडौं । पछिल्लो समय टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिरामीको खचाखच भएको छ । पछिल्लो समय बढेको डेङ्गुको प्रसारका कारण सो रोगका बिरामीको संख्या बढेको अस्पतालले जनाएको छ । यसबाहेक स्क्रब टाइफस र रेबिजका बिरामी पनि बढेपछि अस्पताल खचाखच भएको अस्पतालका निर्देशक डा युवानिधि बसौलाले जनाए ।
उनका अनुसार एक हप्तायता बिरामीको चाप बढेको हो । उनले बिरामीको चापका कारण अस्पतालले शय्याको अभाव हुन थालेको बताए । उनका अनुसार डेङ्गी, स्क्रब टाइफस र रेबिजका ५५ जना भर्ना गरी उपचाररत रहेका छन् ।
अस्पतालका निर्देशक डा बसौलाले अहिले दैनिक आठ बिरामी उपचारका लागि आउने गरेको बताउनुभयो । तीमध्ये धेरै डेङ्गी, स्क्रब टाइफस र रेबिजका बिरामी रहेका छन् । भदौयता डेङ्गीका १९५, स्क्रब टाइफसका १३ र सर्पदङ्शका ७१ बिरामीले उपचार गरेका छन् । स्क्रब टाइफस मुसामा लाग्ने किर्नाजस्तो देखिने कीराको टोकाइबाट मानिसमा सर्ने गर्दछ ।