काठमाडौं । भुटानपछि ताईवान(चाइनिज ताइपाई) ले पनि एन्फा उपाध्यक्ष दावा लामालाई भिसा दिन इन्कार गरेको छ । ताईवानमा आयोजना हुने एएफसी यू२० च्याम्पियनसिपमा सहभागी हुने नेपालको युवा २० वर्ष मुनि टोलीको हेडअफ डेलिगेसनको रुपमा त्यसतर्फ जान एन्फाले भिसा आवेदन गरेको थियो ।
लामालाई खेलकुदको सर्वोच्च संस्था राष्टिय खेलकुद परिषद्ले लागु औषध मुमा दोषी देखिएपछि खेलकुद ऐनअनुसार कारवाही गर्न एन्फालाई पटकपटक निर्देशन दिँदा पनि एन्फाले संरक्षण गर्दै आइरहेको छ ।
लागु औषध मुद्दामा दोषी देखिएपछि एशियाली फुटबल महासंघले एन्फा उपाध्यक्ष लामालाई सामाजिक उत्तरदायित्व समितिको सदस्यबाट पनि हटाएको थियो । उक्त समितिबाट दावा लामालाई हटाएर एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ्गलाई सहसंयोजक तोकेको छ। अध्यक्ष नेम्बाङ्ग यसअघि एएफसी विकास समितिको सहसंयोजक थिए । यसअघि पनि भुटानले उनलाई भिषा दिन अस्वीकार गरेको थियो ।
उपाध्यक्ष दावा लामाविना नै आज राति युवा टोली ताईवान उड्ने कार्यक्रम रहेको छ । राखेपले २०८१ भाद्र २५ गते एन्फालाई पत्र लेख्दै खेलकुद विकास ऐन २०७७ को दफा २२ को उपदफा ५ को (ङ) तथा राखेपबाट स्वीकृत एन्फा विधानको धारा २४ को ३ (ङ) वमोजिम कारवाही गरि ७ दिन भित्र परिषद समक्ष लिखित जानकारी उपलव्ध गराउन राखेप कार्यकारी समितिको निर्णयानुसार निर्देशन जारी गरिसकेको छ ।