पाटन – साझा प्रकाशनले विशेष छुटमा पुस्तक दिने गरी पुस्तक प्रदर्शनी सुरु गरेको छ । ‘कालजयी कृति, पाठकका निम्ति’ भन्ने नाराका साथ प्रकाशनबाट छापिएका पुस्तकलाई विशेष छुट दिने गरी प्रदर्शनी गरिएको साझाले जनाएको छ । मंगलबार प्रदर्शनीको उद्घाटन प्रकाशनका पूर्वमहाप्रबन्धक तथा प्रमुख सल्लाहकार डा तुलसी भट्टराईले गरेका हुन् ।
प्रदर्शनीको उद्घाटन पश्चात् डा भट्टराईले पढ्ने संस्कृति हराउँदै गएको वर्तमानयुगमा पुस्तक प्रदर्शनीले ठूलो योगदान पुर्याउने बताए। ‘विद्यालय, महाविद्यालय, क्याम्पसले विद्यार्थीलाई यस्ता प्रदर्शनीमा सहभागी गराउन सके राम्रो हुन्छ, यसले पुस्तकको सार्थकता वृद्धि हुनुका साथै लेखकलाई परिचित गराउन मद्दत पुर्याउँछ,’ उनले भने।
साझा प्रकाशनका अध्यक्ष डा विजय सुब्बाले लामो समयसम्म बजारका पसलमा आँखा नपरेका पुस्तक पनि प्रदर्शनीमा रहेको जानकारी दिए। उनले यो प्रदर्शनी पाठक र साहित्यकारलाई नजिक बनाउने माध्यम भएको बताए।
साझाको केन्द्रीय कार्यालय पुल्चोक र देशभरका बिक्री कक्षमार्फत २० देखि ८० प्रतिशतसम्म छुटका साथ पुस्तक बिक्री गरिने उनको भनाइ छ। प्रदर्शनीमा साझा प्रकाशनका दुई हजार दुई सय र अन्य प्रकाशनका गरी करिब पाँच हजार पुस्तक प्रदर्शनीमा राखिएको छ।