काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले गैरकानुनी रूपमा सदस्यलाई भुटान लैजान लागेको भन्दै राष्ट्रिय खेलकुद परिषद्मा उजुरी परेको छ । साफ यू १७ च्याम्पियनसिप र एएफसी यू २० च्याम्पियनसिपमा क्रमश: नेपालको १७ र २० वर्षमुनिको टिमले सहभागिता जनाउन लागेकोमा सो क्रममा गैरकानुनी रूपमा सदस्य लैजान लागेको भन्दै गोरखा जिल्ला फुटबल संघका सदस्य अमित खत्रीले उजुरी गरेका हुन् ।
खेलकुद विकास ऐन २०७७ को धारा २८ को उपदफा झमा परिषद्को स्वीकृति लिई अन्तर्राष्ट्रिय स्तरमा हुने खेलकुद प्रतियोगितामा भाग लिन सदस्य वा खेलाडीलाई पठाउने व्यवस्था रहेको छ । साफ यू १७ नियमावली २०२४ को सेक्सन छ मा २३ खेलाडी र ७ जना अफिसियललाई मात्र साफले खर्च व्यहोर्ने व्यवस्था रहे पनि परिषद्को स्वीकृतिविना नै ३ जना सदस्यलाई एन्फाले भुटान लैजान लागेको उनको आरोप छ ।
खत्रीले एन्फाका केन्द्रीय सदस्यहरू पुरुषोत्तम थापा, विकास नारायण श्रेष्ठ र अनुशासन समितिका सदस्य उमेशलाल प्रधानलगायतलाई गैरकानुनी रूपमा भुटान लैजान लागेको आरोप लगाएका छन् । साथै, उनले यसबारेमा छानबिन गरी आवश्यक कारबाही गर्न पनि परिषद्समक्ष माग गरेका छन् ।