काठमाडौं खबर अशोज १, २०८१
काठमाडौं । आज काठमाडौं उपत्यकामा इन्द्रजात्रा मनाइँदैछ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।
हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको इन्द्रध्वजलाई भाद्र शुक्ल चतुर्दशीका दिन धुमधामका साथ यो जात्रा मनाउने गरिन्छ । यो पर्व विशेषत: काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाउने गरिन्छ ।
द्वादशीको दिन विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
इन्द्रध्वजको पूजागरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । यही पर्वविशेषलाई ध्यानमा राखी सरकारले आज काठमाडौं उपत्यका र दोलखामा लागू हुने गरी सार्वजनिक बिदा दिएको छ ।