काठमाडौं । भुटानले एन्फा उपाध्यक्ष दावा लामालाई भिषा दिन इन्कार गरेको छ । भुटानमा आयोजना हुने साफ यू१७ च्याम्पियनशिपमा सहभागी हुने नेपालको युवा (१७वर्ष) मुनि टोलीका साथ त्यसतर्फ जान एन्फाले भिषा आवेदन गरेको थियो ।
लामालाई खेलकुदको सर्वोच्च संस्था राष्टिय खेलकुद परिषदले लागुऔषध मुद्धामा दोषी देखिएपछि खेलकुद ऐनअनुसार कारवाही गर्न एन्फालाई पटक पटक निर्देशन दिँदा पनि एन्फाले संरक्षण गर्दै आईरहेको छ ।
लागुऔषध मुद्धामा दोषी देखिएपछि एशियाली फुटबल महासंघले एन्फा उपाध्यक्ष लामालाई सामाजिक उत्तरदायित्व समितिको सदस्यबाट पनि हटाएको थियो । उक्त समितिबाट दावा लामालाई हटाएर एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ्गलाई सहसंयोजक तोकेको छ।
अध्यक्ष नेम्बाङ्ग यसअघि एएफसी विकास समितिको सहसंयोजक थिए । एन्फाले भुटान जाने टोलीलाई भोलि बिदाइ गर्दैछ । राष्टिय खेलकुद परिषदको स्वीकृति वेगर प्रतियोगिता नियमावलीले तोकेकोभन्दा बढी अफिसियल भुटान जान लागेको बुझिएको छ । जसमा एन्फाको केन्द्रीय सदस्यद्धय विकास नारायण श्रेष्ठ, पुरुषोत्तम थापालगायत छन् ।