काठमाडौं । सङ्घीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुहुँदै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको चालू चौथो अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरेको बताए ।
“नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ भदौ ३० गतेको सिफारिसमा सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन २०८१ साल भदौ ३१ गते राति १२ बजेबाट लागू हुनेगरी अन्त्य भएको छ”, राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुहुँदै सभामुख घिमिरेले भने ।
सभामुख घिमिरेले प्रनिनिधिसभाको चालु चौथो अवधिभर भए–गरेका काम कारबाहीको विवरण आजको बैठकमा सुनाएका थिए । प्रतिनिधिसभाको चौथो अधिवेशन २०८१ वैशाख २८ गते प्रारम्भ भई २०८१ भदौ ३१ गतेसम्म एक सय ३० दिन चलेको छ । जसमध्ये ५३ दिनमा ५६ पटक बैठक बस्दा दुई सय छ घण्टा २५ मिनेट समय संसदीय काम कारबाहीमा व्यतित भएको सभामुख घिमिरेले बताए । यस अवधिमा सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठक बसेको थियो ।
यो अधिवेशनमा प्रतिनिधिसभामा आठवटा सरकारी र एउटा गैरसरकारी विधेयक दर्ता भएका छन् । जसमध्ये पाँचवटा विधेयक सङ्घीय संसदको दुवै सदनबाट पारित भएको र तीनवटा विधेयक समितिमा विचाराधीन रहेको सभामुख घिमिरेले बताए ।