काठमाडौं खबर भदौ ३१, २०८१
काठमाडौं । आज प्रतिनिधिसभाको बर्खे अधिवेशनको अन्तिम दिन । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गरेपछि यो अधिवेशन अन्त्य गरिने भएको छ । केही दिनदेखि हिंसा शब्दलाई संसद्मा हंगामा मच्चिइरहेको बेलामा आजको प्रधानमन्त्रीको सम्बोधन कत्तिको सौहार्दपूर्णरूपमा चल्ला भन्ने धेरैको जिज्ञासा रहेको छ ।
आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक चल्न दिन माओवादी केन्द्र सकारात्मक भए पनि यकिन निर्णय गरिसकेको छैन । जसले संसद् बैठकप्रति धेरैको चासो बढेको हो । आइतबारको बैठक माओवादी केन्द्रका सांसदहरुको विरोध कारण बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको थियो ।
संसद्लाई विनाअवरोध सञ्चालन गर्ने विषयमा सभामुख देवराज घिमिरेले प्रतिपक्षी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसहितका नेताहरुसँग छलफल समेत गरेका थिए । तर उनीहरूले आइतबारको बैठकमा हिंसा शब्द रेकर्डबाट नहटाएसम्म संसद् चल्न नदिने निर्णय गरेको थियो ।