काठमाडौं खबर भदौ ३०, २०८१
काठमाडौं । आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । आज बस्ने तय भएको बैठकमा माओवादी केन्द्रले अवरोध गर्ने निर्णय गरेपछि स्थगित भएको संसद सचिवालयले जनाएको छ।
बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको कार्य व्यवस्था परामर्श समितिको बैठकमा माओवादीसँग सहमति जुट्न सकेको थिएन । पार्टीमा छलफल गर्ने भन्दै माओवादीले दिउँसो १ बजेको लागि बोलाएको संसद् बैठक दुई बजे बस्ने गरी स्थगित भएको थियो । पछि फेरि ३ बजे बस्ने भनियो । तर सदन खुलाउनेबारे सहमति जुट्न नसकेपछि बैठक स्थगित गरिएको हो ।
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले एमाले सांसद योगेश भट्टराईले सदनमा बोल्दा प्रयोग गरेको ‘हिंसा’ शब्द रेकर्डबाट नहटाएसम्म सदन चल्न नदिने अडान लिँदै आएको छ ।