काठमाडौं । नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनका लागि असोज ४ गतेदेखि प्रक्रिया सुरु हुने भएको छ । शनिबार साँझ सार्वजनिक भएको कार्यतालिका अनुसार असोज १२ गते निर्वाचन हुने गरी कार्यतालिका तय भएको हो ।
जारी निर्वाचन कार्यतालिकाअनुसार आगामी असोज ४ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म मनोनय दर्ताको कार्यक्रम छ । सोही दिन साँझ ५ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ । असोज ४ गते साँझ ५ देखि असोज ५ गते अपराह्न २ बजेसम्म उम्मेदवारमाथिको दाबीविरोध तथा असोज ४ गते साँझ ५ देखि असोज ५ गते अपराह्न ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने कार्यतालिका छ ।
यसैगरी असोज ५ गते साँझ ६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र असोज १२ गते बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान तथा मतदान समाप्त भएपश्चात मतगणना गर्ने कार्यतालिका छ ।
यस्तै प्रदेश समितिको मनोनयन आगामी असोज ८ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म र संस्थागत समिति, जिल्ला शाखा र प्रतिष्ठान शाखाको मनोनयन आगामी असोज १० गते बिहान १० देखि अपराह्न ३ बजेसम्म हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
यसैबीच केन्द्रीय निर्वाचन समितिले आसन्न निर्वाचनका लागि महासङ्घको केन्द्रीय समितिबाट यही भदौ २८ गते प्राप्त संशोधित मतदाता नामावली आज सार्वजनिक गरेको छ ।