काठमाडौं । हिंसाको विषयलाई लिएर बुधबार अवरुद्ध भएको प्रतिनिधिसभा बैठक आइतबार १ बजे बस्ने भएको छ । सभामुखको हिंसा शब्द रेकर्डबाट हटाउनु नपर्ने रुलिङपछि नेकपा माओवादी केन्द्रले बुधबारको संसद् बैठक अवरुद्ध गरेको थियो ।
यद्यपि नेकपा माओवादी केन्द्रले जनयुद्धलाई हिंसा भनिएकोले सो शब्द संसद्को रेकर्डबाट नहटाएसम्म सदन अवरुद्ध पार्ने बताउँदै आएको छ । पार्टीले आइतबार पनि संसद् अवरोध गर्ने तयारी गरेको छ । बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने सम्भावित कार्यसूची छ ।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यसअघि अर्थमन्त्री पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आव २०७९/८०’ पेस गर्ने र सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।