काठमाडौं । संवैधानिक परिषद्को बैठकले भावी प्रधानन्यायाधीश सिफारिसका लागि थप अध्ययन गर्ने निर्णय गरेको छ । शुक्रबारको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई भावी प्रधानन्यायाधीशमा नियुक्त गर्ने प्रावधान रहेको भए पनि परिषद्ले भने थप अध्ययन गर्ने भन्दै विनानिष्कर्ष बैठक टुङ्गिएको हो । बैठकमा थप अध्ययनको विषय उठेपछि रोलक्रम उल्लङ्घन गर्ने प्रपञ्च हो कि भन्ने शंका उत्पन्न भएको छ ।
बैठकमा सहभागी सदस्यहरूले परिषद्का निर्णयलाई विवादरहित तुल्याउन निर्णयअघि जुनसुकै विषयमा पनि पर्याप्त अध्ययन र छलफल गर्नुपर्ने सुझाव राखेका थिए । सर्वोच्च अदालतका वर्तमान प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको आगामी असोज १९ गते पदावधि सकिँदैछ । रिक्त हुने उक्त पदमा वरिष्ठतम न्यायाधीशमध्येबाट परिषद्ले नाम सिफारिस गरी सङ्घीय संसद्मा संसदीय सुनुवाई समितिमा पठाउनेछ ।
परिषद्को यही भदौ ३१ गते बस्ने बैठकले यस सम्बन्धमा आवश्यक निर्णय लिने उपसभामुख इन्दिरा रानाले जानकारी दिए । उनले भने, ‘प्रधान न्यायाधीशमा वरिष्ठतम न्यायाधीशकै सिफारिस हुने भए पनि त्यसमा त्रुटीरहित र विवाद नआओस् भन्नका लागि थप अध्ययन गर्ने सहमति बनेको हो ।’ परिषद्बाट हुने निर्णय परिपक्क तुल्याउन यस्ता अध्ययन र छलफल फलदायी हुने विश्वास व्यक्त गर्दै उनले यसले राम्रो अभ्यासको थालनी र परिपक्क निर्णय हुने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता बसेको बैठकमा प्रधान न्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलको नेता र प्रतिनिधिसभाका उपसभामुख सहभागी हुने ।