काठमाडौं । हिंसा शब्द मर्यादित कि अमर्यादित ? भन्ने विषयलाई लिएर संसदमा सत्ता पक्षको नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसदबीच भनाभन भएको छ । सभामुख देवराज घिमिरेले एमाले सांसद योगेश भट्टराईले प्रयोग गरेको जनयुद्धमा हिंसा भएको भन्ने शब्द अमर्यादित र संसदीय मान्यता विपरीत नभएको भन्दै रेकर्डबाट हटाउनुनपर्ने बताए पछि नेकपा माओवादी केन्द्रका सांसदहरूले यसको विरोध गरेका थिए ।
गत १२ भदौमा नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदमा सम्बोधन गर्ने क्रममा यो शब्द प्रयोग गरेपछि माओवादीले निरन्तर यो शब्द रेकर्डबाट हटाउन माग गर्दै आएको छ । तर अहिले आएर सभामुखले सो शब्द हटाउनु नपर्ने भनेपछि यो जनयुद्ध र नेपालको संविधानमाथिकै अपमान भएको भन्दै विरोध गर्दै आएको छ ।
बुधबारको बैठकमा सभामुखले सो घोषणा गर्नेबित्तिकै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सभामुखको निर्णय गलत भएको भन्दै विरोध जनाए । त्यसको प्रतिवादमा एमाले नेता रघुजी पन्तले यो शब्द कैयौं पटक प्रयोग भएको भन्दै यसलाई गलत भन्न नमिल्ने भन्दै सभामुखको निर्णयको बचाउ गरे । त्यसपछि माओवादी सांसद माधव सापकोटाले बोल्न समय मागेका थिए। सभामुखले यस विषयमा वादविवाद नगरौं भन्दै बोल्न नदिएपछि माओवादी सांसदहरु सिटबाट उठेर संसद् अवरोध गरेका थिए ।
अवरोधकै बीच माओवादी नेता देवेन्द्र पौडेल र नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बोलेका थिए । तर यति हुँदा पनि माओवादीको विरोध नरोकिएपछि थप कार्यसूचीमा अघि नबढी आजको संसद बैठक आगामी आइतबारसम्मका लागि स्थगित भएको थियो ।