काठमाडौं खबर भदौ २६, २०८१
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका केही भेगमा बिजुली काट्ने तयारी गरेको छ । काठमाडौंको प्रमुख स्थानमा भूमिगत प्रसारण लाइनको काम गर्ने प्रयोजनका लागि बिहान साढे छ बजेदेखि ११ बजेसम्म लाइन काट्ने तयारी रहेको बताइएको छ ।
नेपाल विद्युत् प्राधिकरणले एक सूचना प्रकाशित गरी रत्नपार्क वितरण केन्द्र मातहतका विभिन्न स्थानमा लाइन काटिने जनाएको छ । उक्त वितरण केन्द्र मातहतका अधिकांश स्थानमा प्रसारण लाइन भूमिगत गरिएको छ । भूमिगत गरिएका प्रसारण लाइनमा आवश्यक काम गर्ने प्रयोजनका लागि बिजुली काटिन लागेको सूचनामा उल्लेख छ ।
प्राधिकरणका अनुसार रत्नपार्क बगैँचा, भोटाहिटी साझा भण्डार, असनचोक, बाङ्गेमुढा, भेडासिंह, इन्द्रचोक, सुर्ज आर्केड, मसला गल्लीमोडसम्म पनि सोही समय सीमाभित्र बिजुली काटिनेछ । लैनचौर सबस्टेसनबाट लैनचौर चोक उपराष्ट्रपति कार्यालय, केशरमहल दरबारमार्ग ट्राफिक कार्यालय, पुरानो जय नेपाल हल, हात्तीसार चोक, काठमाडौं प्लाजा, मेरियट होटल, नागपोखरी र नारायणचौरसम्म बत्ति जाने बताइएको हो ।