काठमाडौं । नेपाली लेखक संघ काठमाडौं जिल्ला कार्य समितिले नेपाली राजनीति एवं साहित्यका शिखर पुरुष बीपी कोइरालाको १११ औँ जन्मजयन्तीमा साहित्य उत्सवको आयोजना गर्ने भएको छ । भदौ २४ अर्थात् सोमबार सुन्दरीजलस्थित बीपी संग्रहालय परिसरमा हुने बीपी जन्म दिवस साहित्यिक उत्सवको उद्घाटन नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भएका छन् ।
कार्यक्रममा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, राजनीतिक विश्लेषक प्रा.डा कृष्ण खनाललगायतले सम्भाषण गर्ने तयारी रहेको समितिका अध्यक्ष विशुकुमार केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिअनुसार कार्यक्रममा लेखक संघका सल्लाहकार डा. तुलसी भट्टराई, चर्चित आख्यानकार तथा साहित्यकार नारायण ढकाल, समीक्षक एवं साहित्यकार डा ज्ञानु पाण्डेसँग संघका सहअध्यक्ष डा रत्नमणि नेपालले परिसंवाद गर्ने तयारी छ ।
साथै, कार्यक्रममा वरिष्ठ एवं चर्चित नवोदित कवि एवं साहित्यकारहरूले आफ्नो रचना प्रस्तुति गर्ने तयारी रहेको विज्ञप्तिमा उल्लेख छ । सोही दिन साँझ संग्रहालय परिसरमा कलाकारहरूले शास्त्रीय संगीत प्रस्तुत गर्ने कार्यक्रम समेत रहेको छ । कार्यक्रम बिहान ९ बजेदेखि सुरु हुने बताइएको छ ।