काठमाडौँ । सत्य युगमा भगवान श्री गणेशको जन्म भएको विश्वासको आधारमा आज गणेश चौथी मनाउने चलन छ । सनातन समाजमा कुनै कामको सुरु गर्दा पुजिने श्री गणेशलाई ठूलो भुँडी भएकाले लम्बोदर, हात्तीको आकृतियुक्त मुहार भएकाले गजानन, विघ्न हटाउने भएकाले विघ्ननाशक, गणका पति भएकाले गणपति, सबै देवताका प्रिय भएकाले सुरप्रिय र विनायकजस्ता अनेकौँ नामले गणेश पुजिन्छन् । यो दिनलाई नेवार समाजले चथाःको रूपमा पुज्छन् ।
गणेश चतुर्थीमा चन्द्रमा हेर्नु हुँदैन भन्ने मान्यता रहेको छ । चन्द्रमा हेरे चोरीको दोष लाग्ने विश्वास गरिन्छ। तर यस दिन ग्रामीण भेगमा भने काँक्रो लगायतका फलफूल चोरी गर्दा दोष नलाग्ने मान्यता रहेको छ । पुराणका अनुसार गणेशले नै यो दिन चन्द्रमाको दर्शन गर्न नहुने श्राप दिएका हुन्। गणेश चौथी नेपाल र भारतका विभिन्न स्थानमा हर्षोल्लासपूर्वक मनाइन्छ। विभिन्न स्थानमा गणेश रथयात्रा निस्कन्छन्।
यस अवसरमा आज काठमाडौँ उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ । शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ ।