काठमाडौं । स्वास्थ्य सेवा विभागले काठमाडौंलगायत देशका विभिन्न स्थानमा जापानिज इन्सेफ्लाइटिस संक्रमणको जोखिम रहेको जनाएको छ । विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार काठमाडौंमा भदौ १५ गतेदेखि असोज १५ गतेसम्म रोग सङ्क्रमणको जोखिम उच्च रहेको जनाएको छ ।
सन् २०२४ को जनवरीदेखि हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका ६८० मध्ये ४२ जनामा यो रोगको सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म काठमाडौंमा भने सो रोगको संक्रमण नदेखिएको भए पनि यो क्षेत्र पनि उच्च जोखिममा रहेको भन्दै सचेत रहन सरकारले आग्रह गरेको छ । सामान्यतयाः लामखुट्टेले टोकेको छदेखि १६ दिनमा रोगका लक्षण देखापर्छन् ।
बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, पक्षघात हुने, घाँटी कडा हुने, कम्पन हुने जस्ता यस रोगका लक्षण हुन् । विभागले यसबाट बच्न झुल टाँगेर मात्रै सुत्न, हाँस, कुखुरा, सुगुर जस्ता जनावरलाई घरदेखि टाढा राख्न, घर बाहिर निस्कदा वा खेतबारीमा काम गर्दा हात पूरै छोपिने गरी कपडा लगाउन, घरको झ्याल, ढोकामा जाली राख्न, घर वरिपरिका पानी जम्न खाल्डाखुल्डी पुर्नेलगायतका काम गर्न आग्रह गरेको छ ।