काठमाडौं । आज हिन्दु महिलाहरूको महान पर्व हरितालिका (तीज) देशभर श्रद्धालुहरूले निर्जला व्रत बसेर मनाउँदैछन् । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यो पर्वको दिन महिलाहरूले महादेवको पूजा आराधना गर्ने गर्छन् । तीजको दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।
तृतीयाको दिन ब्रत बसेका महिलाहरूले पर्सिपल्ट पञ्चमीका दिन स्नान गरी पञ्चमी पूजा लगाएपछि तीज सकिन्छ । तीज पर्वको अवसरमा आज काठमाडौँको पशुपतिनाथ मन्दिरसहित देशैभरीका शिवालयहरुमा भक्तजन महिलाको घुइँचो लागेको छ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ।
पौराणिक कथाअनुसार वरदानविपरीत पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन्। पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए।
साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन्। यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ।