काठमाडौं । पछिल्ला केही दिन सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीचको डिजिटल युद्धको चर्चा देख्न सकिन्छ । सामाजिक सञ्जालमा देखिएको यो युद्ध एकले अर्कालाई रिपोर्ट गर्नेदेखि अर्कोको फलोअर्स घटाउने अवस्थासम्म पुगेको छ ।
यो युद्धको सुरुवात भने मेयर बालेन शाहबाट सुरु भएको थियो । बालेनले केही दिनअघि ८ वर्षदेखि एक नाबालिकालाई घरेलु कामदारका रूपमा शोषण र हिंसा गर्ने नेकपा एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई दुई महिनादेखि कारबाही गर्न अनुरोध गर्दा पनि सरकारले नसुनेको भनी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रोश व्यक्त गर्दै फेसबुकमा स्टाटस लेखे। उनले फेसबुकमा लेखेका थिए ‘अदालतले पनि मुद्दा चलाऊ भनेर भनिसकेको छ। सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू, सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ, समाउनलाई भन्दछ। सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला।’
उनको स्टाटसपछि ओलीले नै कुनै प्रतिक्रिया नदिए पनि अनेरास्ववियुका अध्यक्ष समिक बडालले बालेनलाई काउन्टर जवाफ दिए । साथै, बालेनको उक्त स्टाटस २ दिनपछि फेसबुकले हटायो। ‘मास रिपोर्ट’मा परेर उनको त्यो स्टाटस रिमुभ भएको थियो । यसमा नेकपा एमाले र विशेषगरी अनेरास्ववियुका कार्यकर्ताहरूको संलग्नता रहेको थियो । बालेनको स्टाटस हटाएपछि भने यो युद्ध दुई नेताभन्दा पनि फ्यानतिर सल्कियो ।
बालेनको स्टाटस हटेपछि बालेनका समर्थकहरूले केपी ओलीको फेसबुक अनफलो अभियान चलाउन थाले । ६ लाख ७० हजार फलोअर्स रहेको ओलीको फेसबुक पुराना नेताहरूमध्येको सबैभन्दा धेरै र सक्रिय फेसबुक पेज मानिन्छ । सो पेज अनलाइक र अनफलो अभियानको नेतृत्व भने एमआरआर नामक प्राइभेट फेसबुक ग्रुपका सदस्यहरूले गरेका थिए । उनीहरूको सक्रियतामा भएको अनफलो अभियानमा अहिलेसम्म करिबकरिब ८० हजारभन्दा धेरैले अनफलो गरिसकेका छन् । यो समाचार तयार पार्दासम्म पनि यो अभियान रोकिएको छैन। पहिले ६ लाख ७० हजार फलोअर्स रहेको ओलीको पेजमा यो समाचार बनाउँदासम्म ५ लाख ८९ हजार फलोअर्समा झरिसकेको थियो ।
फेसबुकमा अनफलोअर्स अभियान चलेपछि ओलीमा भने बेचैनी सुरु भएको छ । बुधबार बसेको एमाले पोलिटब्यूरो बैठकमा समेत यसको बारेमा चर्चा चलेको थियो । ओलीले आफ्नो आधिकारिक फेसबुकबाट फलो गरेको एउटै मात्रै केपी बा नामको पेजलाई पनि उनले अनफलो गरे । अनफलो अभियानले करिब १४ हजार फलोअर्स रहेको त्यो एकाउन्टमा समेत असर गर्न सक्ने भन्दै अनफलो गरिएको हुन सक्ने विश्लेषण गरिएको छ । बाहिर अनफलो अभियानले कुनै असर नगर्ने भनिए पनि उनको फलोअर्स माओवादी अध्यक्ष प्रचण्डको भन्दा कम हुने अवस्था देखिएको छ।