काठमाडौं खबर भदौ २०, २०८१
काठमाडौं । नौ बाजा बजाउँदै धुमधामका साथ एक महिने गुँला पर्व सम्पन्न भएको छ । चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म नेवार समुदायले मनाउने यो पर्व बुधबार सम्पन्न भएको थियो । गत साउन २२ गतेदेखि सुरु भएको यस पर्व विभिन्न स्थानीय बौद्ध चैत्यको परिक्रमा गरी सम्पन्न भएको छ ।
विशेषगरी बौद्ध समुदायले मनाउने यो पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवान्को भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरी एक महिनासम्म मनाइएको छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौँ र ‘ला’ को अर्थ महिना हो । यसरी गुँलाको अर्थ नवौँ महिना भन्ने बुझिन्छ ।
यो पर्वमा प्रत्येक दिन नौ बाजा बजाएर चैत्य तथा मन्दिर परिक्रममा गरिने, एक महिनासम्म व्रतालुले नुन नखाई एक छाकमात्र खाने र पर्व अवधिभर बिहान बेलुका पूजाअर्चना गर्ने प्रचलन रहेको छ ।
भक्तपुर र मध्यपुरथिमिमा पनि यो पर्व विभिन्न बहाः बहि, चैतयलगायतको परिक्रमा गरी मनाएका छन् । काठमाडौँवासीले स्वयम्भू महाचैत्य दर्शन गरेपछि शोभा भगवती हुँदै विजयेश्वरी र त्यहाँबाट केलटोलस्थित सेतो मत्स्येन्द्रनाथ दर्शन गर्ने, ललितपुरवासीले पाटन र चोभारस्थित मत्स्येन्द्रनाथ मन्दिर, मञ्जुश्री, गोल्डेन टेम्पललगायत पाटनका विभिन्न विहार/महाविहारमा पूजा गर्न गर्ने गर्दछन् ।