काठमाडौं । इजरायलले सैन्य दबाब कायम राखे बन्धक ’कफिनभित्र’ फर्काइने चेतावनी हमासले दिएको छ । इजरायली सेनाले हमासद्वारा बन्धक बनाइएका ६ जनाको शव भेटिएको जनाएको छ । इजरायली सेना (आईडीएफ) का अनुसार गाजाको रफाह सहरको भूमिगत सुरुङमा शनिबार ती शव फेला परेका हुन् । हमासले अक्टुबर ७ मा गरेको आक्रमणपछि उनीहरूलाई बन्धक बनाएको थियो । बिबिसीका अनुसार १५० इजरायलीसहित २१२ भन्दा बढीलाई हमासले बन्धक बनाएको छ ।
हमासको सशस्त्र सेनाले इजरायलले सैन्य दबाब जारी राखेमा बन्धकहरू “कफिनभित्र“ फर्काइने र इजरायली सेनाले आक्रमण गरेमा बन्दीहरूको सुरक्षामा रहेका सेनालाई “नयाँ निर्देशन“ दिइएको चेतावनी सोमबार दिएको छ । पछिल्लो समयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्झौताको सट्टा सैन्य दबाबको माध्यमबाट कैदीहरूलाई मुक्त गर्ने जिद्दी गरेको दोष हमासले लगाउदै आएको छ । यसै गरी प्रधानमन्त्री नेतान्याहुले हमासले शान्ति नचाहेकाले बन्दकहरुको हत्या गरेको दाबी गर्दै आएका छन् ।
यही स्थिति कायम रहेमा बन्दकहरु कफिनभित्रै फर्किने इजेदिन अल–कसम ब्रिगेडका प्रवक्ता अबु ओबिडाले विज्ञप्तिमार्फत जनाएका छन् । यसअघि छ जना बन्धकहरूलाई “मृत्युदण्ड“ दिएपछि सेना बन्दकहरु राखेको स्थानमा पुगेमा उनीहरूसँग गर्ने व्यवहारका सम्बन्धमा कैदीहरूको रक्षा गर्न तोकिएका सुरक्षाकर्मीलाई नयाँ निर्देशन जारी गरिएको छ ।