काठमाडौं । प्रहरी महानिरीक्षकको जिभ्रो थुत्नुपर्ने भन्ने विवादास्पद अभिव्यक्ति दिने सञ्चार सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बर्खास्त गर्न चौतर्फी दबाब सुरु भएको छ । शनिबार पोखरामा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रहरी समायोजनको विषयलाई लिएर उनले सो आपत्तिजनक अभिव्यक्ति दिएका थिए । महानिरीक्षकविरुद्धको अभिव्यक्तिपछि पृथ्वीसुब्बाको आलोचना भइरहेको छ ।
यसैबीच उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जथाभावी नबोल्न निर्देशन दिइसकेका छन् भने उनलाई बर्खास्त गर्न चौतर्फी दबाब सुरु भएको छ ।
मंगलबार मात्रै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले विज्ञप्ति जारी गर्दै मन्त्री गुरुङलाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् ।
मंगलबार नै पूर्वप्रहरी संगठन प्रमुख मञ्चले पनि संयुक्त विज्ञप्ति जारी गर्दै पृथ्वीसुब्बालाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेको छ । मञ्चले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘बहाल तथा पूर्व सुरक्षाकर्मीको मानमर्दन हुने यस प्रकृतिको घटनाका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई माननीय मन्त्रीज्यूको असंवेदनशील अभिव्यक्तिलाई संज्ञानमा लिनु भई आवश्यक कारबाही गर्नु हुन पनि अनुरोध गर्दछौं ।’