काठमाडौं । माओवादीको सर्कुलरमा उपमहासचिव जनार्दन शर्माको विद्रोहको प्रभाव देखिएको छ । आइतबार पार्टी महासचिव देव गुरुङले जारी गरेको सर्कुलरमा जनार्दनको विषयलाई भने बोल्ड गरिएको छ।
खुमलटारबाट नै जनार्दन शर्माले पार्टी फुटाउँदैछन् भन्ने प्रचार आएको भनेर शर्माले पार्टी बैठकमा लिखित असहमति जनाएका थिए । यो विषयलाई उनले जोडतोडका साथ उठाएपछि प्रचण्डले त्यसको जवाफमा आत्मालोचना गरेका थिए । त्यसको प्रभावस्वरुप अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले जारी गरेको सर्कुलरमा ‘शर्माले पार्टी फुटाउँदै छ भन्ने प्रचारमा कुनै सत्यता नभएको’ भन्ने वाक्यांश बोल्ड गरिएको हो ।
यो माओवादीको दोस्रो सर्कुलर हो । पहिलो सर्कुलर बैठक समापन गर्ने बेला प्रचण्डले अब जनार्दनले पार्टी फुटाउँदैनन् भन्ने निष्कर्ष सुनाएका थिए । त्यही आशयको सर्कुलर २ भदौमा जारी भएको थियो । त्यतिले नपुगेर सर्कुलरमा बोल्ड नै गरेर नयाँ सर्कुलर निकालिएको हो ।