काठमाडौं खबर भदौ १५, २०८१
काठमाडौं । बुढानीलकण्ठ रिडर्सको पहिलो कार्यक्रम शनिबार सम्पन्न भएको छ । कुनै एउटा विषयमा अध्ययन गरी आफूले बुझेको कुरालाई साराशंमा प्रस्तुत गर्ने ‘पढ्ने र बोल्ने’ कार्यक्रमको पहिलो श्रृंखला नेपाली काँग्रेस बुढानीलकण्ठ नगर कार्यसमितिको कार्यालय सुन्दर बस्तीमा सम्पन्न भएको हो।
यस्तो कार्यक्रमले पढ्ने र बोल्ने बानीको विकास हुनुका साथै साथीहरूसँग नयाँनयाँ अनुभव साट्न पाइने भएको यो कार्यक्रमलाई मासिकरूपमा निरन्तरता दिने तयारी गरिएको कार्यक्रमका संयोजक रमेश गौतमले जानकारी दिए ।
समसामयिक विषयमा भएको कार्यक्रममा नेपाली काँग्रेसका बुढानीलकण्ठ नगर सचिव बिजेन्द्र श्रेष्ठ, बुढानीलकण्ठ नगरपालिकाका वडा नं. ९ का वडा सदस्य रमेश गौतम, नेपाली काँग्रेस बुढानीलकण्ठ-१२ का वडा कार्यसमिति सचिव नवराज भट्टराई र नेपाली काँग्रेस बुढानीलकण्ठ नगर कार्यसमिति सदस्य सलिन तिखत्री परियारको उपस्थिति रहेको थियो ।
पहिलो कार्यक्रममा आफूले धेरै कुरा सिक्न र आफ्नो अनुभव साट्न पाएकोमा खुसी व्यक्त गर्दै सचिव भट्टराईले बुढानीलकण्ठ रिडर्समा पढ्ने र बोल्ने बानीको विकास गर्न चाहने नयाँनयाँ युवाहरूलाई समेत जोड्दै लैजाने बताए ।