काठमाडौं खबर भदौ १५, २०८१
काठमाडौं । काठमाडौंमा उपत्यकाव्यापी अन्तर माध्यमिक विद्यालयस्तरीय कविता, निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । सहिद गंगालाल फाउण्डेशन नेपालको आयोजनामा शुक्रबार प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठमा कार्यक्रम सम्पन्न भएको हो ।
सांस्कृतिक सचेतना, प्रतिभाको पहिचान, सामुदायिक सङ्लग्नता र बौद्धिक विमर्श गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा राजधानीका १९ विद्यालयको सहभागिता रहेको आयोजक संस्थाका महासचिव सूर्यदीप प्रसाद श्रेष्ठले जानकारी दिए । सो प्रतियोगिताअन्तर्गत चित्रकलामा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो भने अन्य तीन विधामा ८ देखि १० कक्षाका विद्यार्थीको सहभागिता रहेको थियो ।
महासचिव श्रेष्ठका अनुसार प्रतियोगितामा प्रथम हुनेहरूलाई नगद १० हजार रूपैयाँसहित पुरस्कृत गरिनेछ भने दोस्रो र तेस्रो प्रतियोगी पनि पुरस्कृत हुनेछन् । प्रतिस्पर्धामा प्रथम हुनेहरूले माघ १६ गते हुने सहिद दिवसको मूल समारोहमा आफ्नो वक्तृत्वकला प्रस्तुत गर्नेछन् । विजयी चित्रकला सोही कार्यक्रममा प्रदर्शनमा राखिनेछ । यसैगरी पुरस्कृत निबन्ध र कविता संस्थाको जर्नलमा प्रकाशित गरिनेछ ।
कार्यक्रममा चित्रकलातर्फ ११ देखि १२ कक्षा अन्तर्गत श्रेया श्रेष्ठ प्रथम, रेजिना बोहरा द्वितीय र कोमल श्रेष्ठ तृतीय भएका छन् । त्यस्तै, तृतीय निबन्धतर्फबाट समृद्धि कार्की प्रथम, तेन्जिङ्ग ल्हामु द्वितीय र आरोहण बराल तृतीय भएका छन् । कविता तर्फ बन्दना बुढाथोकी प्रथम, मन्दिप रिमाल द्वितीय र प्रसिद्धि काफ्ले तृतीय भए भने वक्तृत्वकलातर्फ नन्दिता आचार्य प्रथम, प्रतल शाह द्वितीय र आर्यभ निरौला तृतीय भए ।
कार्यक्रममा बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको विशेष अतिथिको रूपमा बागमती प्रदेशका पूर्व संस्कृति, पर्यटन तथा सहकारी मन्त्री, संविधानसभा सांसद राज्यलक्ष्मी श्रेष्ठ, शार्दूलजंग गुल्मका गुल्मपति अनिल श्रेष्ठलगायत थिए । कार्यक्रममा नर्भिक कलेज अफ हेल्थ साइन्सेज एन्ड टेक्नोलोजीका बिएस्सी नर्सिङका विद्यार्थीले स्वास्थ्य शिविर तथा स्वयम्सेक भूमिका निभाएका थिए । यसका लागि नर्भिक कलेज अफ हेल्थ साइन्सेज एन्ड टेक्नोलोजिज बिएस्सी कार्यक्रम प्रमुख उपप्राध्यापक (मीना) पौडेल विमुन्सले समन्वय गरेकी थिइन् ।