काठमाडौं खबर भदौ १४, २०८१
काठमाडौं । पशुपतिलाई हरेक पूर्णिमाको दिन ८४ व्यञ्जनसहितको भोग लगाउने भवनको रूपमा रहेको महास्नानघर भासिएको छ । करिब १ वर्षअघि आंशिक क्षतिग्रस्त रहेको सो भवनलाई नेपाल इन्भेस्टमेन्ट बैंकको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको थियो । तर पुनर्निर्माणको एक वर्ष पनि नबित्दै त्यो भासिएको हो । तत्कालीन राजा रणबहादुर शाहको शासनकालमा यो भवन बनाइएको थियो ।
२०७२ सालको महाभूकम्पमा जीर्णोद्वार सम्पन्न गरी महास्नानघरमा दुई वर्षअघि २०७९ भदौ पहिलो साता पशुपति सङ्ग्रहालय उद्घाटन गरिएको थियो । सङ्ग्रहालय उद्घाटन गरिए पनि सञ्चालन मापदण्ड नबनेका कारण बन्द नै गरिएको अवस्थामा भासिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भुँइतलाको भागमा प्रहरी बस्ने गरेको थियो । भवन भासिएपछि प्रहरीलाई त्यहाँबाट स्थानान्तरण गरिएको छ ।
महास्नानघरमा केही समय नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यालय पनि राखिएको थियो । महास्नानघर जीर्णोद्वार गर्दा तलको भागमा केही नगरिएका कारण भासिएको हुनसक्ने अनुमान गरिएको छ । लकासीको मुख्य काठ कुहिएका कारण भवन भासिएको अनुमान गरिएको छ ।
दुई वर्षअघि बैंकले रु पाँच करोड १४ लाखको लागतमा महास्नानघरको जीर्णोद्वार सकी पशुपति सङ्ग्रहालय निर्माण सम्पन्न गरेको जानकारी गराएको थियो । भवन भासिएपछि कोषले चालु आर्थिक वर्षमा यसको पुनःनिर्माणका लागि रु एक करोड बजेट व्यवस्थापन गरेको जनाएको छ ।