काठमाडौं खबर भदौ १३, २०८१
काठमाडौं । अमेरिकाको भर्जिनियामा नेपालकी नर्स २८ वर्षकी ममता काफ्ले एक महिनादेखि सम्पर्कविहीन भएको घटनाले नेपालमा चर्चा कमाइरहेको छ । जुलाई ३१ तारेखदेखि सम्पर्कविहीन भएकी नर्स काफ्ले हालसम्म फेला परेकी छैनन् भने उनका श्रीमान् नरेश भट्टमाथि प्रहरीले शंका गरेर सोही अनुसारको व्यहोरासहित अदालतमा मुद्दा दायर गरेको छ । यो घटनाले नेपालमा समेत अमेरिकामा नेपालीमाथिको सुरक्षालाई लिएर अनेक चर्चा चल्ने गरेको छ ।
त्यस्तै, भाद्र १३ गते अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा नेपाली युवती मुना पाण्डेको गोली हानी हत्या भयो। ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया मुना पाण्डेको उनकै अपार्टमेन्टमा गोली हानी हत्या गरिएको हो । पाण्डेलाई सोमबार साँझ छातीमा गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो। सोमबार साँझ ५:३५ बजे ह्युस्टन प्रहरी घटनास्थल पुग्दा उनको मृत्यु भइसकेको थियो। ह्युस्टन प्रहरीले विज्ञप्ति जारी गर्दै पीडितलाई अपार्टमेन्टभित्र धेरैवटा गोली लागेको अवस्थामा मृत फेला पारिएको बताएको छ।
त्यस्तै, करिब एक वर्षअघि पनि अमेरिकाको टेक्ससमा नै अर्का एक नेपालीको गोली हानी हत्या भएको थियो । अमेरिकाको टेक्ससमा रुकुमको बाँकेकोट–१० का ३० वर्षीय दीपक वलीको लुटेरा समूहले आइतबार गोली हानी हत्या गरेका थिए । लुटेरा समूहले टेक्सस वेको सिटी नजिक हाइवे–३५ को एक्जिट ३४६ स्थित ग्यास स्टेसनमा कार्यरत वलीमाथि स्टोरमा पसेर एक्कासी गोली प्रहार गरेका थिए ।
अमेरिकामा गोलीकाण्डका घटनाहरू दिनप्रतिदिन सुन्ने गरिन्छ । तर त्यसमा कतिपय घटनाहरूमा नेपालीहरु समेत तार्गेटमा पर्ने गरेको देखिएको छ । न्यूयोर्कबाट प्रकाशित हुने नेपाली अखबार नेप्योर्कका अनुसार आफ्नी छोरी एकजना अमेरिकी नागरिकसँग प्रेम सम्बन्धमा रहेको र सम्बन्धलाई लिएर केही तनावमा रहेको पनि उनकी आमा अनिताले बताएकी थिइन् ।
त्यस्तै, ममता काफ्लेको हत्यामा उनका पतिको संलग्नताको आशंका गरिएकोले यो उनीहरूको आपसी बेमेलका कारण भएको बताइन्छ। तर ओलीको हत्या भने पैसाका कारण नै गरिएको बताइएको छ । यसरी विभिन्न कारणले अमेरिकामा नेपालीहरूमाथि हत्या र आक्रमण हुँदै आएको पाइएको छ ।