भक्तपुर। स्वास्थ्य जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आमनागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क गर्दै र विशिष्टिकृत सेवालाई सरलीकृत गर्न स्वास्थ्य बीमा एक मात्र उपाय भएको बताएका छन् । पूर्वस्वास्थ्यमन्त्री गगन थापाको समयमा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमलाई पछिका सरकारहरूले राम्रोसँग कार्यान्वयन गर्न नसक्दा स्वास्थ्य बीमाप्रति नै मान्छेको गलत बुझाइ भइरहेको बेलामा मन्त्री पौडेलले त्यसलाई व्यवस्थित बनाउँदै आम नागरिकलाई नि:शुल्क स्वास्थ्य सेवा दिने योजना सहित काम गरिरहेका छन् ।
उनले पटकपटक स्वास्थ्य बीमालाई मजबुत बनाउन सकेमा जनतालाई निःशुल्क स्वास्थ्य सेवा दिन सकिने भन्दै स्वास्थ्य बीमालाई एक लाखबाट बढाएर पाँच लाख पुर्याउने बताउँदै आएका छन् । भक्तपुर क्यान्सर अस्पतालले बुधबार आयोजना गरेको कार्यक्रममा पनि उनले यही कुरा दोहोर्याए । तर यसको स्रोत र व्यवस्थित गर्ने प्रणालीको बारेमा भने उनले अध्ययन गरिरहेका छन् । यसका लागि स्रोत सुनिश्चित गर्न आवश्यक पहल भइरहेको बताउँदै मन्त्री पौडेलले भनेका छन्, ‘अहिलेके अवस्थामा बीमा व्यवस्थित छैन, स्रोत सुनिश्चित नहुँदा समस्या छ, यसका लागि बीमा बोर्डमार्फत एकीकृत माध्यमबाट एकद्वार प्रणाली अँगाल्दै सेवालाई लैजानुपर्छ ।’
जनताको सेवालाई पहिलो प्राथमिकतामा राखी नागरिकलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्न स्वास्थ्य संस्था तत्पर रहनुपर्ने बताउँदै मन्त्री पौडेलले स्वास्थ्य बीमालाई सबैको पहुँचमा पुर्याउनुपर्ने बताए। ‘स्वास्थ्यका नाममा सङ्कलित करको ५० प्रतिशत हिस्सा बीमालाई दिनुपर्छ, आवश्यकताभन्दा बढी चिनीको मात्रा भएका उत्पादित वस्तुमा चिनी करको व्यवस्था गरी त्यसबाट प्राप्त हुने रकम बीमामा जम्मा गर्नुपर्छ, निजामती कर्मचारी, सुरक्षा अङ्ग, सामाजिक सुरक्षा कोषको बीमासम्बन्धी रकम बीमा बोर्डमा जम्मा गर्नुपर्छ’, मन्त्री पौडेलले भने, ‘सरकारी बेतन खाने सबैले दुई प्रतिशत रकम बीमामा जम्मा गर्ने व्यवस्था गर्नुपर्छ, १६ लाख घरपरिवार नेपाल सरकारको स्वास्थ्य बीमामा आबद्ध छन् । त्यसलाई बढाएर ६० लाख घर परिवारमा पुर्याएर त्यसबाट जम्मा हुने प्रिमियमलाई बीमा कोषमा जम्मा गर्न सके स्वास्थ्य सेवालाई निःशुल्क, व्यवस्थित र सर्वसुलभ ढङ्गले सेवा प्रदान गर्न सक्छौँ ।’
स्वास्थ्य उपचारकै कारण लाखौँ जनता गरिबीको रेखामुखी पुगेको हुँदा नसर्ने रोगबारे नागरिकलाई रोग नलाग्ने उपाय र चेतना जगाउन आवश्यक भएको कार्यक्रममा उनले औँल्याए । उनले ४० वर्षमाथि उमेरकाको मिर्गौला र क्यान्सर रोगको स्क्रिनिङ गर्ने र १० देखि १४ वर्ष उमेका बालिकालाई पाठेघरको क्यान्सर विरुद्धको भ्याक्सिन निःशुल्क प्रदान गर्ने व्यवस्था गर्न लागेको बताए ।