काठमाडौं । सांसदहरूले बौद्धको भेटी व्यवस्थापन गर्न आग्रह गरेका छन् । मन्दिरमा चढाइएको भेटी व्यवस्थापन, गुठीको सम्पत्ति संरक्षण र सदुपयोग हुनुपर्नेमा उनीहरूले जोड दिएका हुन् । राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उहाँहरुले भेटीको पारदर्शिताबारे चर्चा गर्र्दै सदुपयोगमा हुनुपर्नेमा जोड दिए ।
‘विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्र, बौद्ध मेलम्ची घ्याङ गुठीको जग्गाको अवस्था, समस्या र चुनौती, बौद्धनाथ क्षेत्रको पुजारी नियुक्ति, आयआर्जन र भेटी व्यवस्थापन, विविध’ विषयक छलफलमा उनीहरुले भेटीको सदुपयोग र पारदर्शी व्यवस्थापन हुनुपर्नेमा जोड दिएका हुन् । गुठीका नाममा रहेको जग्गाको संरक्षरण र व्यवस्थापन गरेर राज्यको सम्पत्तिको सदुपयोग गर्नुपर्नेमा उनीहरूको जोड थियो ।
समितिका सभापति सोनाम गेल्जेन शेर्पाले विश्व सम्पदा सूचीमा सूचीकृत सबै सम्पदाको सम्पत्तिलाई गुठीमा ल्याउन नसकिएको बताए । “गुठीलगायत मन्दिरका भेटीका सन्दर्भमा पारदर्शिता आवश्यक छ । यस विषयमा हामी छलफल गर्दैछौँ”, उनले भने ।