एकैछिन मेरा आँसुका फोहराहरू बिसाएर
निस्सारताको घेराभन्दा माथि कतै पुर्याएर
रहरहरुको भंगालोभित्र भयको सन्त्रासलाई पोको पार्दै
आत्मनिवेदनका वहावहरूमा मुटुको महाद्वीप बनाउँदै
पर क्षितिजपारिको कुनै घुर्मैलो बस्तीमा
न्यु इयर इभ मनाउन मन छ तिमीसङ्ग ।
समयले डोर्याइदिएका पदचापहरु छोडदै
एउटा छुट्टै धुर्वीकरणको नक्सा कोर्दै
मनभित्र सधैं बल्ने ज्वालामुखीको उज्यालो तापेर
पटकपटक जल्नबाट जोगाएको देव्रेपाटो सुरक्षित राखेर
शमसानघाट जस्तो शून्यता र एक्लोपन भूलेर
रङ्गीन नयाँ वर्ष भित्र्याउने साँझमा प्रेमील धुन सुन्न मन छ तिमीसङ्ग ।
उदासिनताले गाँजेको आफ्नो दिनचर्यालाई
चिन्नै नसकिने झिलमिल बत्ती र माक्सभित्र लुकाएर
एउटा नयाँ रंगशालामा बर्सौ अघि अन्यापूर्ण रुपले
निर्वासित भएका मेरा सुकोमल हाँसो खोज्दै
लम्बाई नभएको यात्राको थालनी गर्दै
कल्पनाको अवरोध विहीन विछ्यौनामाथि
सिङ्गो साँझ अचेत भैदिन मन छ तिमीसङ्ग ।
कुनै मायावी शक्तिले खोटो भाग्यका धर्साहरु मेटाइदिए त
लय बिग्रेको कर्कश ध्वनिजस्तो जिन्दगीको अन्तिम संस्कार गरिदिए त
किम्वदन्तकी सिन्ड्रेला जस्तै म पनि रमाउँदी हुँ
तिम्रो ओठको रस पिएर मात्तिदीँ हुँ
जीवनको वास्तविकताको क्रमभंगतामा रमाएर
ए राजकुमार ! स्वप्न सुन्दरी सिन्ड्रेला झैँ
नयाँ वर्षको संघारमा जादुमय नृत्य गर्न मन छ तिमी सङ्ग ।