संस्कार सुम्पिँदै यो आदर्श बोक्न चाहेँ
छैनन् उचाल्न सक्ने कर्तव्य चाल पाएँ
चाहेँ मरूँ युवामा सुम्पेर धर्म बाँकी
इच्छा छ देशलाई माया गरूँ नथाकी ।।
जन्माउने रुँदै छन् भुल्दा युवा विदेश
माटो सुकेर जाँदा के बाँच्छ तत्त्व शेष
यो प्रश्नको विचारी देऊ जवाफ ताकी
इच्छा छ देश लाई मायाँ गरूँ नथाकी ।।
आजन्म दास बन्ने यो देशकै म नारी
माटो सधैँ मुमा हुन् कर्तव्य हुन्न भारी
खोक्रिन्छ देश मेरो उद्देश्यले नहाँकी
इच्छा छ देश लाई मायाँ गरूँ नथाकी ।।
छोरा उडे बिरानो बन्दै गए नचिन्ने
आफ्नो निधार छोप्दै छन् पुत्र लाज किन्ने
खोज्दै छु भूमि खन्ने होला युवा कि बाँकी
इच्छा छ देश लाई मायाँ गरूँ नथाकी ।।
मिल्दैन जो त्यो सपना नदेखूँ
म चाकडीका कविता नलेखूँ
वा वा र आहा सतही बधाई
भो चाहिँदैनन् अब क्यै मलाई
त्यागेर थोत्रा अभिमान सान
ठुला बडाको खुब राखूँ मान
सेवा गरुँ क्यै दुखकष्ट पर्दा
आँखा पुछूँ हर्दम आशु झर्दा
फालेर सारा मनका कचेरा
हुन् देहका निर्मल तन्तु मेरा
बले सदा झल्मल दिव्य ज्योति
के चाहियो तुच्छ हिरा र मोती
यो जिन्दगी मानिस भै म बाँचू
क्यै लोभ ईष्र्या दिलमा नसाँचू
हेस् गर्व मान्छे हुनुमा मलाई
गरुँ सकेको अरुको भलाई
अझै छु फुल्दै अझ फुल्न देऊ
सुवास फैलाउँछु धर्य लेऊ
चुँडी अकालै किन नास पार्ने ?
उद्देश्य मेरो छ धरा सिगार्ने ।