काठमाडौं । सहकारी ठगी प्रकरणमा पटकपटक आफ्नो संलग्नता अस्वीकार गर्दै आएका पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने अप्ठेरोमा परेका छन् । सूर्यदर्शनलगायत सहकारीका चार वटा सर्वर भेटिएपछि लामिछाने थप संकटमा परेका हुन् । सो सर्बरमा लामिछानेले दुई करोड रुपैयाँ व्यवसाय कर्जामा लिएको भेटिएको छ ।
सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले गोरखा मिडिया नेटवर्क प्रालिको पूर्वप्रबन्ध निर्देशक समेत रहेका लामिछानेलाई आज दिउँसो २ बजे सोधपुछका लागि बोलाएको समिति सभापति सूर्य थापाले जानकारी दिए । लामिछानेभन्दा अगाडि आज बिहान ११ बजे गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि सोधपुछका लागि बोलाइएको सभापति थापाले बताए ।
काठमाडौं शंखमूलबाट चार वटा सर्भर बरामद गरेपछि २०७२ सालदेखिको ठगी विवरण पत्ता लागेको पछि रवि संकटमा परेका हुन् । यसअघि विसं २०७६ सालसम्मको विवरण मात्रै पत्ता लागेको थियो । जसमा रवि लामिछानेको नाम उल्लेख थिएन । पछि सहकारीका आईटी विज्ञ भविश्वर अर्यालसँगको बयानमा उनले सर्वर पूर्व डीआईजीको घरमा रहेको बताएपछि प्रहरीले सो सर्बर बरामद गरेको थियो ।