काठमाडौं खबर भदौ २, २०८१
काठमाडौं । पदयात्रा (ट्रेकिङ) व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को नयाँ कार्यसमितिका लागि एउटा समूहले उम्मेदवारी घोषणा गरेको छ । आगामी भदौ १७ गते वार्षिक साधारणसभामार्फत नयाँ कार्यसमिति चयन हुँदैछ । सो समूहबाट अध्यक्षका प्रत्यासी राजेन्द्रप्रसाद सापकोटाले प्यानलसहित उम्मेदवारी घोषणा गरेको हो । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सापकोटा नेतृत्वको समूहले २० बुँदे चुनावी घोषणापत्रसहित उम्मेदवारी घोषणा गरेको हो ।
अध्यक्षका प्रत्यासी सापकोटाको समूहबाट वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पाले उम्मेदवारी दिने भएका छन् । साथै, महासचिवमा राजेन्द्रप्रसाद सुवेदी, सचिवमा रिञ्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पाले उम्मेदवारी घोषणा गरेका हुन् ।
समूहका तर्फबाट कार्यसमिति सदस्यमा सागर राई, सुमन अर्याल, राजु गुरुङ, दिनेश तिम्सिना, विश्व दाहाल, भुवनबहादुर खड्का, दावा ग्याल्जेन लामा, छेपेट लामा र पवित्रा तामाङले उम्मेदवारी घोषणा गरेका हुन् । अध्यक्षका प्रत्यासी सापकोटाले पदमार्ग संरक्षण, त्यससम्बन्धी नीतिगत सुधार आफ्नो प्रमुख प्राथमिकता रहेको बताए । “पदयात्रा व्यवसाय विकासको दीर्घकालीन सोचसहित नीतिगत सुधार पहिलो प्राथमिकता हुनेछ”, उनले भने, “पदमार्ग नै नभए व्यवसाय सङ्कटमा पुग्ने खतरा छ, विकासका नाममा मासिँदै गएका पदमार्गको संरक्षणमा कटिबद्ध भएको लाग्नेछु ।”