काठमाडौं । नेपालको इतिहासमा बासठ्ठी हरण काण्ड चर्चित काण्डभित्र पर्दछ । विसं १८६२ मा मुख्तियार रणबहादुर शाहले बिर्ता, गुठी र किपट जग्ग्गा जफत गर्ने घोषणा गरेका थिए । यही काण्डलाई इतिहासमा बासठ्ठी हरण काण्डको रूपमा चिन्ने गरिएको छ । आफू बनारस रहँदा लागेको ऋण तिर्न भीमसेन थापाको सल्लाहमा ६२ जना बाह्मणहरूले पाएको विर्ता, गुठी र राईहरूको किपट जग्गा जफत गर्ने घोषणा गरे। यसैलाई नेपालको इतिहासमा ‘बासठ्ठी हरण‘को नाम दिइएको छ। यसै घटनालाई ६२ हरण, बिर्ता हरणको नामले चिनिन्छ। त्यो बिर्ताहरणले शताब्दीदेखि पाएका बिर्तावाला भएका ब्राह्मणलगायत सबैजसो जातिमा ठूलो हलचल ल्यायो।
राजा रणबहादुर शाह वि.सं. १८५८मा राज्य त्याग गरी बनारस गएका थिए। बनारसमा बस्दा अंग्रेजले सहयोग नगरेको तथा धन सकिएर बिजोग स्थिति भएपछि वि.सं. १८६२मा पुनः नेपाल फर्किए र दामोदर पाण्डे लगायत केही भारदारको हत्या र केहि भारदारहरूको निर्वासन गरी शासन सत्ता आफ्नो हातमा लिएका थिए ।
भोगविलासमा मस्त रणबहादुर शाहले राजराजेश्वरी, सुवर्णप्रभा र कान्तिवतीका अतिरिक्त बनारसबाट फर्केपछि लक्ष्मीदेवी, महताव, चन्द्रावती, अमरराजेश्वरी तथा ललित त्रिपुरासुन्दरीसँग आफूखुसी विवाह गरेका थिए। नेपालको एकीकरण गर्न धनको आपूर्ति गर्न भनी ब्राह्मणले पाएको बिर्ता, राईको किपट हरण गर्नपट्टी लागे।
कोतपर्वको लगत्तै जारी भएको प्राइम मिनिस्टर जंगबहादुर र उनका भाइ काजी जयबहादुरको विक्रम संवत् १९०३ सालको सनदमा बासठ्ठी हरणमा परेको गुठी जग्गा फिर्ता गरेको उल्लेख छ । यो सनदले जंगबहादुर सत्तामा आएलगत्तै नै १८६२ सालमा राजा रणबहादुरले देवीदेवता र ब्राह्मणहरूको गरेको बासठ्ठी हरण उल्टाएर देवीदेवताका गुठी जग्गा र ब्राह्मणहरूको बिर्ता खेत फिर्ता दिनका लागि काम सुरू गरेको देखाउँछ ।