काठमाडौं । सरकारले काभा भलिबलमा उपविजेता बनेका नेपाली खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ । ‘काभा वुमन्स नेशनल भलिबल लिग २०२४’ मा नेपालका तर्फबाट सहभागी खेलाडी १४ जनालाई जनही रु तीन लाखका दरले पुरस्कार वितरण गर्ने निर्णय यही साउन ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो । नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पुथ्वीसुब्बा गुरुङका अनुसार, भलिबलका मुख्य प्रशिक्षकलाई रु दुई लाख, व्यवस्थापकलाई रु एक लाख तथा सहायक प्रशिक्षक र फिजियोलाई जनही रु एक लाख २० हजारका दरले पुरस्कृत तथा सम्मान गर्न स्वीकृति दिइएको छ ।
यस्तै, सरकारले विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट एक सय ५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण लिने भएको छ । उक्त ऋण स्वीकार गर्नेसम्बन्धी वित्तीय सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्न स्वीकृती प्रदान गरिएको छ ।
सञ्चार मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार ललितपुर महानगरपालिकालाई रुसी महासङ्घको उलान उदेनगरसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्व स्वीकृति प्रदान गरिएको छ । यस्तै, आर्थिक वर्ष २०७९/८० र आव २०८०/८१ मा लगातार दुई वर्षसम्म वार्षिक एक सय नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतपत्र प्राप्त संस्थाको इजाजत चालु आवका लागि नवीकरण गर्न बाधा अड्काउ फुकाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयमा कार्यरत माहुत प्रेमलाल बछार चौधरी पक्षघात भई कामकाज गर्न असमर्थ भएकाले सेवा अवधि थप गरी अवकाश दिइएको छ । निजामति सेवा ऐन, २०४९ अनुसार, चौधरीको ६ वर्ष चार महिना सात दिन समयावधि थप गरी अवकाश दिइएको छ । अवकाश मिति भने २०८० पुस ५ गतेदेखि लागू हुने गरी निर्णय भएको मन्त्री गुरुङले जानकारी दिए ।
लोक सेवा आयोगको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रममा सहभागी हुन लोक सेवा आयोगका पदाधिकारीलाई स्वीकृति प्रदान गरिएको छ । सो कार्यक्रम आगामी असोज ५ देखि १५ गतेसम्म बेलायतमा आयोजना गरिएको छ । यस्तै आगामी भदौ ५ देखि ९ गतेसम्म भारतमा आयोजना हुने आठौँ अन्तर्राष्ट्रिय ‘धर्मा धर्मा कन्फरेन्स’मा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई स्वीकृति दिइएको छ ।