काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अफ्रिकामा मंकीपक्स भाइरल रोगको नयाँ संस्करणले भयावह अवस्था ल्याएपछि यसको उच्चतम स्तरको सतर्कताका लागि विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ । डब्लुएचओले बुधबार १३ अफ्रिकी देशहरूमा एमपक्सका केसहरू फेला परेको र यसको नयाँ रूप फैलिरहेको बताएको छ। संगठनले दुई वर्षमा यो रोगको लागि अलर्ट जारी गरेको यो दोस्रो पटक हो ।
यो प्रजातान्त्रिक गणतन्त्र कंगोबाट सुरु भएर भाइरल भएको प्रकोप हो । यो समस्या छिमेकी देशहरूमा समेत समेत फैलिइसकेको छ । ‘आज आपतकालिन समितिले मलाई भेटेर सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गर्न सल्लाह दियो । मैले त्यो सल्लाह स्वीकार गरेको छु,’ डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले एक पत्रकार सम्मेलनमा भने। टेड्रोसले थपे, ‘डब्लुएचओ आगामी दिनमा विश्वव्यापी प्रतिक्रियालाई समन्वय गर्न, प्रत्येक प्रभावित देशहरूसँग नजिकबाट काम गर्न, प्रसारण रोक्न, संक्रमितहरूको उपचार गर्न र जीवन बचाउन प्रतिबद्ध छ ।’
के हो एम पक्स ?
विश्व स्वास्थ्य संगठनका अनुसार एम पक्स मंकिपक्स भाइरसका कारण लाग्ने एक प्रकारको सरुवा रोग हो । यसको सामान्य लक्षणहरूमा छालामा दाग वा म्युकोसल घाउहरू हुने गर्छ । जुन २-४ हप्तासम्म रहन सक्छ, जसमा ज्वरो, टाउको दुखाइ, मांसपेशी दुखाइ, ढाड दुख्ने, कमजोरी हुने र लिम्फ नोडहरू सुन्निने हुन्छ । यो रोग संक्रमित व्यक्तिको नजिक जाँदा, दूषित सामग्रीको प्रयोग र संक्रमितसँगको शारीरिक सम्पर्कबाट मानिसमा सर्न सक्छ। त्यस्तै, जनावरको शिकार गर्दा, छालाको कपडा बनाएर लगाउँदा र यो रोग लागेको जनावरको मासु खाँदा पनि यो रोग सर्न सक्छ । यो समस्याले गर्भवती र गर्भमा रहेको बच्चालाई समेत असर गर्ने संगठनले जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा