काठमाडौं खबर साउन २९, २०८१
काठमाडौं । रास्वपा सांसद मनीष झा नियमापत्ति जनाउने नियमबारे जानकारी नभई बोल्न खोज्दा संसदमा नै ट्रोल बनेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा एमाले सांसद दामोदर पौडेल बैरागीको भनाइमा नियमापत्ति जनाउने क्रममा सभामुखले कुन नियमबाट नियमापत्ति जनाएको भनेर सोध्दा झा अवाक् बने । जसले गर्दा उनको नियमापत्तिलाई सभामुखले स्वीकार नै गर्न सकेनन् ।
प्रतिनिधिसभाको नियम २६ मा नियमापत्तिको विषय छ । जहाँ ‘बैठकसमक्ष तत्काल विचाराधीन रहेको विषयमा कुनै सदस्यलाई नियमको कुनै व्यवस्था उल्लङ्घन भएको छ भन्ने लागेमा जुन नियम उल्लङ्घन भएको हो सो खुलाई नियमापत्ति उठाउन सकिनेछ ।’ भन्ने लेखिएको छ । सो नियमावलीमा नियमापत्ति उठाउने सांसदले त्यसको आधार स्पष्ट गरी नियमापत्तिसम्बन्धी कुरा मात्र बोल्न पाउने उल्लेख छ । तर उनले कुनै पनि नियम उल्लेख नगरी नियमापत्ति छ भनेपछि सभामुखले नियमापत्ति स्वीकार गरेनन् ।
बैरागीले रास्वपा सभापति तथा सांसद रवि लामिछानेले सहकारीको रकम फिर्ता गर्नुपर्ने बताएपछि झाले त्यसमा नियमापत्ति रहेको बताएका थिए । सांसद झाले सहकारीको रकम अपचलनका विषयमा अध्ययन गर्न संसदीय छानबिन समिति बनिसकेको र उक्त समितिले निर्णय दिन बाँकी नै रहेको अवस्थामा लामिछानेलाई आरोपित गर्न नपाइने बताए ।
सभामुख घिमिरेले सांसदको अभिव्यक्तिमा सहमति वा विमति हुन सक्ने तर कुन नियमअन्तर्गत आपत्ति जनाएको भनेर सोधे । सांसद झाले भने समितिले निर्णय नदिँदै पैसा फर्काउन पर्दैन भनेर सोध्ने आधार के हो भन्दै सांसद बैरागीको भनाइप्रति आपत्ति जनाए । सभामुखले फेरि कुन नियमअनुसार नियमापत्ति हो ? भनेर सोध्दा झाले प्रतिनिधिसभा नियमावलीको नियम २६ मा नियमापत्तिको विषय रहेको बताए । जबकि नियम २६ मा कुनै पनि विषयमा चित्त नबुझेमा कुन नियमअनुसार आपत्ति हो सो नियम खुलाएर आपत्ति जनाउन पाउने उल्लेख छ । न कि यही नियमलाई आधार मानेर कुनै नियमको उल्लेख नगरी आपत्ति जनाउन पाइँदैन । यसरी सभामुखले नियम भनेपछि मात्रै आपत्ति जनाउन पाइने भनेपछि झा अवाक् बनेका थिए ।