काठमाडौं खबर साउन २८, २०८१
काठमाडौं । सौर्यमासअनुसार साउनको अन्तिम सोमबार आज हो । तर चन्द्रमास अनुसार भने अन्तिम सोमबार आज नभएर जनैपूर्णिमाको दिन परेको छ । चन्द्रमास अनुसार यो सार श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमा भदौ तीन गते परेको छ । शास्त्रीय हिसाबले भन्ने हो भने आज नभएर अन्तिम सोमबार भदौ तीन गते परेको छ ।
आज नेपालमा अन्तिम सोमबारको रूपमा देशभरका विभिन्न शिवालयहरूमा घुइँचो लागेको छ । साउनको सबै सोमबार महत्वपूर्ण भए पनि पहिलो सोमबार र अन्तिम सोमबार झनै महत्वपूर्ण मानिन्छ । साउनमा अन्य दिन व्रत बस्न नसके पनि अन्तिम सोमबार ब्रत बस्दा सबै सोमबारको ब्रतको फल पाइन्छ भन्ने मान्यता रहेको छ । भगवान् शिवको महिना साउन र भगवान शिवको बार सोमबार भएकोले साउनको सोमबारलाई विशेष महत्व दिने गरिएको हो । यस वर्ष त झनै अन्तिम सोमबार जनैपूर्णिमाको दिन पर्ने भएकोले यो वर्षको अन्तिम सोमबार झनै विशेष मान्ने गरिन्छ ।
आजको सोमबार पनि अन्य सोमबार जस्तै काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहजरूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको छ ।
यसैगरी आज काठमाडौँ उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन् ।