काठमाडौं । कपन संगीत सरोवरको २१६औं नियमित शास्त्रीय तथा भक्ति संगीत कार्यक्रम सम्पन्न भएको छ । शनिबार कपनको बंगलामुखी मन्दिर परिसरमा सरोवरको आफ्नै डबलीमा आयोजना गरिएको कार्यक्रममा शास्त्रीय गायनका ज्ञाता हेमराज पुनले प्रस्तुति प्रस्तुत गरेका थिए । विभिन्न दिग्गज व्यक्तित्वहरूको साथमा सो सांगीतिक कार्यक्रम सम्पन्न गरिएको छ।
पुनलाई अनन्त प्रजापतिले तबलामा, यतिराज अधिकारीले बेलामा , इन्द्र मल्लले हार्मोनियममा र रुपक भट्टराईले तानपुरामा साथ दिएका थिए । यसैगरी मधुसुदन खनालले भजनहरू गाएका थिए । कार्यक्रममा विशेष श्रोताको रूपमा संघीय सांसद चित्रबहादुर के.सी., कम्युनिष्ट नेता मोहन विक्रम सिंह, जन गायक स्याम तमोट, बुढानीलकण्ड नगरपालिकाकी उपमेयर अनिता तामाङलगायत वामपन्थी नेताहरूको उपस्थित थियो।
सरोवरले गरेको यसभन्दा अघिल्लो कार्यक्रममा सरोवरद्वारा सञ्चालित संगीत प्रशिक्षण कार्यक्रमका पूर्वप्रशिक्षार्थी महिलाहरूले सामूहिक भजन गायन र नाचगान गरेका थिए ।