काठमाडौं । साउदी तटीय सहर जेद्दाहमा इस्लामिक सहयोग सङ्गठन (ओआइसी) को असाधारण सत्रमा भाग लिएको एक दिनपछि इरानका कार्यवाहक विदेशमन्त्री अली बघेरीले इजरायलविरुद्ध जवाफी कारबाही गर्ने चेतावनी दिएका छन् । बिहीबार पत्रकार सम्मेलनमा भने ‘तेहरानमा यहुदीहरूले जुन कृत्य गरेका छन् त्यो रणनीतिक गल्ती थियो किनभने उनीहरूले यसको गम्भीर मूल्य चुकाउनुपर्नेछ ।’
हमास नेताको हत्या इजरायलको महँगो ‘रणनीतिक गल्ती’ भन्दै इजरायलले यसको ठूलो मूल्य चुकाउनुपर्ने बताएको हो । गत साता तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानियको हत्या गरेको आरोप इरानले इजरायललाई लगाएको छ । उनको हत्यापछि मध्यपूर्वमा अहिले तनाव उत्पन्न भइरहेको छ । इजरायलले हानियाको मृत्युप्रति कुनै टिप्पणी नगरेको भए पनि इरानले जवाफी कारबाही गर्ने चेतावनी दिएपछि यस क्षेत्रमा तनाव उत्पन्न भएको हो ।
इजरायलले ‘तनाव, युद्ध र द्वन्द्वलाई अन्य मुलुकमा फैलाउन चाहेको’ आरोप लगाउँदै बघेरीले इजरायल इरानसँग लड्ने अवस्थामा नरहेको दाबी गरे । “इजरायल इरानविरुद्ध युद्ध सुरु गर्ने स्थितिमा छैन”, उनले भने, “ऊसँग न क्षमता छ, न त ताकत नै ।”