काठमाडौं खबर साउन २२, २०८१
काठमाडौं । मध्यपूर्वमा युद्धको आशंका बढेको छ । तेहरानमा हमास नेताको हत्याको प्रतिशोधमा इजरायलमाथि इरानको आक्रमणको आशङ्का बढेसँगै अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार आफ्ना राष्ट्रिय सुरक्षा टोलीसँग सङ्कट वार्ता गरेका छन् । मध्यपूर्वमा अवस्थालाई पूर्णरूपमा युद्धमा रूपान्तरण हुनबाट रोक्ने उद्देश्यले कूटनीतिको हिस्साका रूपमा बाइडेनले जोर्डनका राजा अब्दुल्ला द्वितीयसँग फोन वार्ता गरेका छन् ।
इरानले हमासका राजनीतिक प्रमुख इस्माइल हानियाको हत्याप्रति सोमबार चाँडै प्रतिक्रिया दिन सक्ने रिपोर्टहरूले सुझाव दिएपछि संयुक्त राज्य अमेरिकाले इजरायलको समर्थनका लागि यस क्षेत्रमा थप लडाकू जेट र युद्धक विमानहरू तैनाथ गरेको छ । विलमिङ्टन, डेलावेयरमा आफ्नो घरबाट एक साताको फिर्तीपछि बाइडेन ‘मध्यपूर्वमा घटनाक्रमहरूका बारेमा छलफल गर्न’ ह्वाइट हाउसको सिचुएसन रूममा आफ्ना राष्ट्रिय सुरक्षा टोलीसँग भेट्ने ह्वाइट हाउसले बताएको छ ।
बाइडेनले विलमिङ्टन छाड्नुअघि राजा अब्दुल्लालाई फोन गर्नुभएको ह्वाइट हाउसले बताएको छ । इरानले हानियाको हत्याको आरोप इजरायलमाथि लगाएको छ । इजरायलले भने आक्रमणका बारेमा प्रत्यक्षरूपमा कुनै टिप्पणी गरेको छैन । हानियाको हत्या बेरुतमा इजरायली आक्रमणमा हिजबुल्लाहका सैन्य प्रमुख फुआद शुक्रको मृत्यु भएको केही घन्टापछि भएको थियो ।