काठमाडौं । बंगलादेशमा बढ्दो आरक्षण विरोधी हिंसाले उग्र रुप लिन थालेपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर विदेश पलायन भएकी छन् । उनको राजीनामापछि बंगलादेशको सेनाले जिम्मेवारी लिएको छ र प्रदर्शनकारीलाई शान्ति कायम राख्न अपिल गरेको छ। शेख हसिना सरकारले लागू गरेको विवादास्पद आरक्षणको विरोधमा बंगलादेशी विद्यार्थीहरूले प्रदर्शन गरेका थिए। यसको विरोधमा भएको झडपमा हालसम्म तीन सयभन्दा बढीको ज्यान गएको छ, जसमध्ये पछिल्लो २४ घण्टामा सयभन्दा बढीको मृत्यु भएको छ । शेख हसिना विदेश पलायन भएपछि बंगलादेशी सेना प्रमुखले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।
भारतको आकाशमा शेख हसिनाको विमान
बंगलादेश छोडेपछि शेख हसिना अहिले भारतमा शरण लिन पुगेकी छन् । हसिनाको विमान बिहार हुँदै दिल्लीतर्फ गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । शेख हसिना करिब १५ वर्षसम्म देशमा सत्तामा रहेकी थिइन् । सेनाले शेख हसिनाले राजीनामा दिएको घोषणा गरेकी छन् । उनी सेनाको हेलिकप्टरबाट भारत गएको पनि भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।
बंगलादेशी सेना प्रमुखद्वारा विद्यार्थीहरूलाई शान्तिको अपिल
यसबीच बंगलादेशका सेना प्रमुखले विद्यार्थीहरूले विरोध प्रदर्शन रोक्न र अधिकारीहरूलाई सामान्य अवस्थामा फर्काउन मद्दत गर्नुपर्ने बताएका छन्। बंगलादेशका सेना प्रमुखले राजनीतिक दलका नेताहरूसँग भेट गरी अवामी लिगका कोही पनि नरहेको बताएका छन् । यद्यपि यस बैठकमा जमात र बंगलादेश नेसनलिस्ट पार्टीका प्रतिनिधिहरू उपस्थित थिए।
हिंसात्मक आन्दोलनमा हुने हरेक हत्याको छानबिन हुन्छ : सेना प्रमुख
बंगलादेशका सेना प्रमुखले प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको भन्दै आन्दोलनरत पक्षलाई शान्ति कायम राख्न आग्रह गरेका छन् । हिंसा र हत्याबाट केही हासिल नहुने भन्दै मिलेर राम्रो भविष्यतर्फ अघि बढन सकिनेमा जोड दिए । हरेक हत्या र कानून उल्लंघनको छानबिन गरिने पनि उनले बताए ।