काठमाडौं । तनाव चर्किरहेको बेला बंगलादेशमा आजदेखि नागरिक अवज्ञा सुरु भएको छ । प्रधानमन्त्री शेख हसिनाको सरकारले प्रदर्शनकारीमाथि प्रहरीले गरेको दमनको विरोधमा विद्यार्थी नेताहरूले देशव्यापी नागरिक अवज्ञा अभियानको घोषणा गरेका हुन् ।
करिब २०० भन्दा धेरैको ज्यान गइसक्दा पनि देशमा तनाव रोकिएको छैन । गत महिनालाई प्रधानमन्त्री हसिनाको १५ वर्षे कार्यकालको सबैभन्दा धेरै हिंसा भएको महिनाका रूपमा हेरिएको छ । प्रारम्भिक विरोध प्रदर्शनको आयोजना गर्ने समूह ‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’ले समर्थक तथा शुभचिन्तकलाई आइतबारदेखि देशव्यापीरूपमा असहयोग आन्दोलन सुरु गर्न आग्रह गरेको हो ।
केही समयका लागि सैनिक तैनाथीले सुव्यवस्था कायम गरेपनि मुस्लिम बहुल राष्ट्र बङ्गलादेशमा नमाज प्रार्थनापछि ठूलो सङ्ख्यामा भीड सडकमा उत्रिएको थियो र सरकारलाई थप सहुलियतका लागि दबाब दिन विद्यार्थी नेताहरूले अवज्ञा आन्दोलनमा व्यापक सहभागिता जनाउन आग्रह गरेका छन् । समूहका असिफ महमुदले एएफपीसँग भन्नुभयो, “कर र युटिलिटी बिल नतिर्ने, सरकारी कर्मचारी पनि हडताल सहभागी हुने र बैङ्कहरूमार्फत विदेशी रेमिटेन्स भुक्तानी रोक्नेजस्ता माग समावेश गरिएको छ । विद्यार्थीहरूले गत महिना भएको हिंसाका लागि हसिनाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र उनका केही मन्त्रीहरूलाई बर्खास्त गर्नुपर्ने माग गरिरहेका छन् ।
उनीहरूले आन्दोलनलाई कारण देखाउँदै सरकारले बन्द गरेका देशभरका विद्यालय र विश्वविद्यालयहरू तत्काल पुनः सञ्चालन गर्नुपर्ने मा जोड दिएका छन् । प्रधानमन्त्री हसिना सरकारको विरोध गर्दै सडकमा भीड अझै बढेको छ ।