जीबी रञ्जित साउन १९, २०८१
काठमाडौं । सन १४२८ देखि १४८२ सम्म यस नेपाल मण्डलमा राजा यक्ष मल्लले राज्य गरेका थिए । राजा यक्ष मल्ल नै यस संयुक्त नेपाल मण्डलका अन्तिम राजा थिए । उनको शासनपश्चात आफ्नो राज्य आफ्ना छोराहरुमा अंशबण्डा गरेका थिए । आफ्ना छोराहरु तथा एक छोरीलाई समेत राज्यको हिस्सा दिएका थिए ।
उनै राजा यक्ष मल्ल एक धर्मात्मा राजा थिए । उनी भगवान पशुपतिनाथका परम भक्त थिए । उनी दिनहुँ हालको पशुपतिनाथको दर्शन गर्न जाने र अनि मात्र आफ्नो राजकीय कार्यको थालनी गर्थे । एकदिन (असार महिनाको दिन) नदीमा ठूलो बाढी आएका कारण उनले भगवान पशुपतिनाथको दर्शन गर्न सकेनन् । त्यो दिन राजा यक्ष मल्ल निकै चिन्तित भई गहिरो सोचमा परे । उसै रात राजाको सपनामा भगवान पशुपतिनाथले दर्शन दिनु भयो र राजालाई भक्तपुर (तत्कालीन नेपाल मण्डलको राजधानी) मै पशुपतिनाथको मूर्ति स्थापना गर्ने आदेश भयो ।
सोअनुसार सन् १४७५ मा राजा यक्ष मल्लले भक्तपुर दरबार स्क्वायरमा एक विशाल मन्दिर निर्माण गरी भगवान पशुपतिनाथको मूर्ति स्थापना गरे । यसै दिनदेखि राजा यक्ष मल्लले भक्तपुरमै रहेको पशुपतिनाथको दिनहुँ दर्शन गर्न थाले । यसरी राजा यक्ष मल्लले स्थापना गरेको कारण यसलाई यक्षेश्वर महादेव पनि भनिन्छ । यस यक्षश्वर महादेव मन्दिरको दक्षिण ढोकाको माथिल्लो ठेलामा दायाँबायाँ दुईवटा सुवर्णपत्र टाँसिएका छन् ।
पहिलो राजा यक्ष मल्लकी रानी कीर्तिलक्ष्मीले बिसं १५४४ (सन १४८७) मा मन्दिरलाई सिँगार्न र देखरेख र नियमित पूजाआजा चलाउन १२ रोपनी जग्गा गुठी राखेको कुरा उल्लेख गरिएको छ भने अर्को सुवर्णपत्र भने राजा राय मल्ल र तिनमा भाइहरु (अंशबण्डापछि विभिन्न क्षेत्रका राजाहरु) ले विसं १५५१(सन् १४९४) मा राखेको सुवर्णपत्र हो । जसमा राजाहरुबीच झगडा भई हारजित जे भए पनि मन्दिरको नियमित पूजाआजा कुनै किसिमले तलमाथि नगर्नु भन्ने कुरा उल्लेख गरिएको छ ।