काठमाडौं । दोलखा भीमसेन मन्दिरमा यसपालि आएको पसिना पूर्वराजा ज्ञानेन्द्र शाहलाई पठाएको पुष्टि भएको छ । गत साउन ५ गते भीमेश्वर मन्दिरको शिलामा पसिना आएको थियो । पसिना आएपछि राज्यमा अनिष्ट हुने भन्दै क्षमा पूजा गर्ने चलन छ । यसपालिको पसिना पुछेको कपास पूर्वराजा ज्ञानेन्द्रलाई पठाएपछि शाहको तर्फबाट उनका प्रतिनिधिले शुक्रबार मन्दिरमा क्षमा पूजा गरेका हुन्।
राजनीतिक रूपमा राष्ट्र प्रमुखको हैसियतमा राष्ट्रपति रहे पनि सांस्कृतिक रूपमा राजा नै राष्ट्र प्रमुख रहने भन्दै यसपालि ज्ञानेन्द्रलाई पसिना पठाइएको हो । पसिना पुछेको कपासलाई खाममा हालेर राष्ट्र प्रमुखकहाँ पठाएपछि राष्ट्र प्रमुखका तर्फबाट मन्दिरमा क्षमापूजा गर्ने चलन छ।
यसपटक पसिना पुछेको कपास राष्ट्र प्रमुखका हैसियतमा पूर्वराजा शाहलाई पठाइएको थियो। भीमसेनलाई पसिना आएको खबर पाएपछि पूर्वराजा शाहले आफ्ना प्रतिनिधिलाई क्षमा पूजाका लागि पठाएका थिए । राजतन्त्रका बेला राजपरिवारबाट क्षमापूजा गर्ने चलन रहेको थियो । त्यसपछि सन् २०२० मा भने तत्कालीन राष्ट्रपति विद्या भण्डारीका तर्फबाट क्षमा पूजा गरिएको थियो।