काठमाडौं । आज घण्टाकर्ण चतुर्दशी अर्थात् गठामङ्गल । राजधानीको भित्री सहरका नेवारी समुदायले चाडपर्वमध्येको सबैभन्दा जेठो पर्वको रूपमा मनाउने गरिन्छ । परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ । यसैगरी आज बिहानै स्नान, पूजापाठ गरी घर–आँगन सफा गरिने, केटाकेटीले बाटामा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक घिसार्दै जलाउने चलन छ । गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्व, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ । यस्तो परम्परा अहिले पनि राजधानीको तीनै सहर काठमाडौँ, ललितपुर र भक्तपुरका भित्री भागमा छ ।
यसो गर्नाले नवविवाहित जोडीको जीवनमा बाध्य बाधा, आन्तरिक बाधा एवं शत्रुबाट रक्षा प्राप्त हुन्छ । आर्थिक एवं भौतिक उन्नतिका लागि पनि घण्टाकर्णको पूजा आराधनालाई राजधानीको भित्री भागमा बस्नेले महत्वपूर्ण पर्वका रुपमा मान्दै आएका छन् ।
गथांमुगःको रोचक किंवदन्ती
गथांमुगःसँग निकै रोचक किंवदन्ती र जनश्रुतिहरू पनि जोडिएका छन् । यस दिन भूत, प्रेत, पिशाचहरू सबैलाई नगरबाहिर धपाउने भएकोले कुविद्या (बोक्सी बिद्या) सिक्न चाहनेहरू, तान्त्रिकहरू मशानमा गई भूतहरूलाई लोभ देखाइफकाई वशमा लिई आफ्नो स्वार्थ सिद्ध गर्नुको साथै आफ्नो तन्त्र शक्तिलाई अझै सशक्त गर्छन् भन्ने कथन पनि समाजमा प्रचलित छ । भनिन्छ, बोक्सी विद्यामा तब मात्र पूर्ण पारङ्गत हुन्छ, जब कोही बोक्सी सानो भई करुवाको माथिको मुखबाट छिरी टुँटीबाट सकुशल बाहिर आउन सक्छ । त्यस्तै, अजङ्गको पिपलको रुखलाई आफ्नो हत्केलामा राखी उल्ट्याउन सक्यो भने कुविद्यामा पारङ्गत भएको मानिन्छ ।
यस्तो अलौकिक क्षमता हाँसिल गर्न तान्त्रिक तथा बोक्सीहरु यस दिन आफ्नो विद्यालाई अझै तिखार्न अवश्य पनि मशानमा रहेको शक्तिपीठमा पुग्छन् । त्यसैले गथांमुगः चःह्रेको रात बोक्सीहरू आफ्नो विद्याको शक्तिलाई बढाएर अझै शक्तिशाली हुन मशानको शक्तिपीठमा गई साधना गरी बस्छन् भन्दै हजुरबा, हजुरआमाहरू सुनाउने गर्छन् । यस बेला उनीहरूले कुनै व्यक्तिको भोग दिन सो व्यक्तिको आत्मा तानेर कुचोको पुच्छर राखी, चार खुट्टाले टेकाई खसीबोकालाई जस्तै लघारी डोरीले बाँधी मशानको शक्तिपिठमा घिच्याउँदै लग्छन् र गोलको मासु, बालुवाको चिउरा खुवाई बली दिँदा रहेछन् भनेर पनि समाजका पाका व्यक्तिहरु सुनाउने गर्छन् । यतिसम्म पनि भनिन्छ, यस्तो बलि आफ्नै लोग्नेको दिन सकेदेखि त्यो बोक्सीजस्तो शक्तिशाली अरू कोही पनि हुन सक्दैन अरे । यसरी हंस तानेको व्यक्ति छ महिनाभन्दा बढी जिउँदो रहन पनि सक्दैनन् भन्ने हाम्रो समाजमा विश्वास रहिआएको छ ।
पौराणिक कथनअनुसार दुवै कानमा घण्ट झुण्ड्याई आहाराको खोजीमा निस्कने घण्टासुर राक्षसलाई मार्न एक जना तान्त्रिकले भ्यागुताको रुप लिएर धाप भएतिर बाटो देखाइदिँदा राक्षस धापमा गाडिएको र सबैजना जम्मा भई त्यसलाई मारेको सम्झना स्वरुप घण्टाकर्णको प्रतीकका रुपमा नर्कटको प्रतिमा बनाइन्छ । यस्तै मान्छेलाई पनि घण्टाकर्णको प्रतीकका रुपमा विभिन्न रंगले रङ्गाएर पनि राख्ने चलन छ । बेलुकी घण्टाकर्णको पुत्ला घिसार्दै नजिकैको खोलामा लगेर जलाउने गरिन्छ । घण्टाकर्णलाई सेलाएपछि घरका दैलामा फलामको तीनखुट्टे वा पाँचखुट्टे किला ठोकी फलाम, पित्तल वा तामाका औंठी लगाउने चलन छ । भक्तपुरमा मल्लकालीन नगरका दोबाटो र चौबाटोमा हाँडीमा दही च्यूरा, सम्यबजी राखेर भूतप्रेत मन्छाउने चलन पनि छ ।
नेपालमा परापूर्व कालमा एउटा यस्तो राक्षस थियो जसलाई देवताको नाम र धर्मकर्मका कुरा पटक्कै मन पर्दैन थियो । धार्मिक र आध्यात्मिक कुरा गर्ने मानिसलाई त्यस राक्षसले मारिदिने गर्दथ्यो । धार्मिक र आध्यात्मिक कुरा सुन्नुपर्ला भनेर ऊ सँधै चिन्तित रहने गर्दथ्यो । त्यस राक्षसलाई त्यतिबेला गठामुङ्गल भन्ने गरिन्थ्यो । त्यस राक्षसले आफ्नो चिन्ता निवारणका लागि उसका दुबै कानमा सोह्र सत्र धार्नीका घण्टा झुण्ड्यायो । त्यो घण्टाको आवाजले देवताको नाम र धर्मकर्मका कुरा कानमा नपर्ने भएपछि ऊ ढुक्क भयो ।
कानमा घण्टा झुण्ड्याएको हुनाले त्यस राक्षसको नाम पनि घण्टाकर्ण रहन गयो । उसले सुनलाई होइन फलामलाई मन पराउँथ्यो र धनीमानी र समृद्धका तुलनामा मगन्ते उसका मन पर्ने मानिस हुन्थे । ऊ देवता र सज्जनलाई मन पराउँदैनथ्यो र दुःख दिन्थ्यो । दोबाटो चौबाटोमा बसेर जे पायो त्यही खान्थ्यो । बाटामा हिँड्नेसँग जगात (कर) माग्थ्यो र कर नतिर्ने मानिसलाई त्यही निहुँमा उसले मारिदिने गर्दथ्यो ।