काठमाडौं खबर साउन १५, २०८१
काठमाडौं । फ्रान्समा जारी ओलम्पिकमा नेपाली खेलाडीले राष्ट्रिय कीर्तिमानी कायम गरेका छन् । मंगलबार भएको पुरुष एक सय मिटर फ्रिस्टाइलमा नेपाली पौडीबाज एलेक्जेन्डर शाहले नयाँ राष्ट्रिय कीर्तिमानी कायम गरेका हुन् ।
पेरिस ओलम्पिक–२०२४ अन्तर्गत् फ्रान्सको पेरिस ला डिफेन्स एरिनामा भएको खेलमा निर्धारित दूरी ५१.९१ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको ५२.१७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका हुन् । आज पुरुष एक सय मिटर फ्रि–स्टाइलमा उनले प्रतिस्पर्धा गरेका आठ खेलाडीले प्रतिस्पर्धा गरेको हिट ३ मा उनले ५१.९१ सकेन्डको समय निकालेका हुन् । उनी हिट ३ मा तेस्रो भएका हुन् । सोही स्पर्धामा जम्मा ७९ खेलाडीले भाग लिएका थिए । जसमा एलेक्जेन्डर ५९औँ स्थानमा रहे ।
एलेक्जेन्डरसँगै ओलम्पिकमा टेबलटेनिसका श्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीकी डुवाना लामा र जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाटै बाहिरिएका छन् ।