

काठमाडौं । साहित्यकार पुनम घिमिरेको उपन्यास दृढ पाइला बजारमा आएको छ । शनिबार नेपाली लेखक संघ, काठमाडौं जिल्ला कार्य समितिको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबीच डा बेन्जु शर्माले पुस्तकको विमोचन गरेकी हुन् । वरिष्ठ साहित्यकार शर्मा वरिष्ठ साहित्यकार स्व भीमनिधि तिवारीकी सुपुत्री पनि हुन् । कार्यक्रममा डा शर्माले आजभोलि साहित्य लेखनमा धेरै महिलाहरु जागरुक भएर लागेको भन्दै समाजमा ठूलाठूला परिवर्तनमा पनि साहित्यको ठूलो भूमिका रहेको भन्दै यो क्रम रोकिन नहुने धारणा व्यक्त गरिन् ।
कार्यक्रमका सभापति एवं नेपाली लेखक संघ काठमाडौंका अध्यक्ष विसु कुमार केसीले साहित्य एउटा भावनाको अभिव्यक्ति मात्रै नभएर यो समाज परिवर्तनको संवाहक समेत रहेको भन्दै सामाजिक सरोकार राख्ने विषयमा यस्ता कृतिहरू प्रकाशन गर्दै गर्नुपर्नेमा जोड दिए । दृढ पाइलाजस्ता कृतिहरूको प्रकाशन गर्न पाउँदा संघ उत्साहित भएको भन्दै अन्य साहित्यकारहरूलाई पनि साहित्य रचनामा सक्रिय रहन उनले आग्रह गरे ।
कार्यक्रमका विशिष्ट अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसालले आफ्नो नगरमा धेरै साहित्यकारहरू बसोबास गर्ने भन्दै तीमध्ये पुनम घिमिरे पनि एक भएको र उनको नयाँ कृति विमोचनमा सहभागी हुन पाएकोमा हर्षित भएको बताए । गोकर्णेश्वर नगरपालिकाले स्थानीय साहित्यकारहरूले प्रकाशित गर्नुभएको कृतिहरु खरिद गरिदिने गरेको, स्थानीय साहित्यिक संस्थाहरुलाई वार्षिक पाँचलाखसम्म अनुदान दिने गरेको र स्थानीय तथा राष्ट्रियस्तरका साहित्यकारहरुलाई हरेक वर्ष रु. एक एक लाख राशिको पुरस्कार दिने प्रबन्ध गरेको बताए ।
कार्यक्रमका अर्का विशिष्ट अतिथि डा रत्नमणी नेपालले समेत साहित्य लेखनी र साहित्यकारहरूको हितमा मेयर रिसालले गरेको कार्यको लागि नेपाली लेखक संघका तर्फबाट सम्मान र आभार प्रकट गरे । नेपाली लेखक संघका सह अध्यक्ष डा. नेपालले लेखक संघकी सदस्य पुनम घिमिरेको प्रस्तुत कृति दृढ पाइलाको सफलताको कामना गर्दै भविष्यमा अझ राम्रा सिर्जनाहरू गर्न आग्रह गरे । विमोचित कृतिको वरिष्ठ साहित्यकार तथा समीक्षकहरु डा शैलेन्दु प्रकाश नेपाल र डा ज्ञानु अधिकारीले विवेचना र समीक्षा गरेका थिए । समीक्षकद्वयले नै पुनम घिमिरेको साहित्यिक चेत, अभिव्यक्ति र प्रस्तुति उत्कृष्ट रहेको बताए भने केही कमीकमजोरीहरूलाई सुधार गर्ने हो भने नेपाली साहित्य भण्डारमा एउटा उम्दा कृतिको रुपमा दृढ पाइला आएको बताए ।
कार्यक्रममा साहित्यकार कवयित्री सुशीला पौडेलले पुनम घिमिरेको उपन्यास पढ्दाको अनुभव विचारहरू पाठकीय प्रतिक्रियाको रूपमा राखिन् । सो अवसरमा उपन्यास समाजका अध्यक्ष शंकर भारती, कथाकार हरिश कल्पित, कृतिकारका पति ध्रुवराज घिमिरे समेतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा लेखक संघ काठमाडौंकी उपाध्यक्ष विमन्सु पौडेल, सचिव गणेश भट्टलगायतले बोलेका थिए । शिखा बुक्सद्वारा प्रकाशित दृढ पाइला उपन्यासकी लेखिका पुनम घिमिरेले पुस्तक लेखन प्रकाशन तथा विमोचन कार्यक्रममा साथ सहयोग र योगदान दिने सबैलाई धन्यवाद ज्ञापन गरिन् ।